काठमाण्डौ ५ साउन ।निरन्तरको वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ । धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण गाडी गुडेका छैनन् । चितवनबाट आउने गाडी मुग्लिन नारायणगढ सडक खण्डको चार किलोमा रोकिएका छन् । गल्छीको महेशखोलामा ठूलो पहिरो खसेको छ । मुग्लिन नारायणगढ सडकको चार किलोमा ठूलो पहाड नै खसेको छ । धेरै ठूलो पहिरो खसेको छ, तत्कालै पन्छाउन नसकिने प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गमा चितवन जिल्लामा दर्जन भन्दा बढी पहिरो खसेको छ ।
सोमबार साँझसम्म पनि निरन्तर वर्षा भइरहेको र पहिरो खसिरहेकाले राजमार्गमा खसेको पहिरो पन्छाउन सकिएको छैन । त्यसैले वर्षाको अवस्था नहेरी राजमार्ग कहिले सञ्चालन हुन्छ भन्न नसकिने प्रहरीको भनाइ छ । बाढीले धादिङको मोवाखोलामा पुल नै भत्काएको छ । काठमाडौं आउँदा चितवनबाट धादिङ प्रवेश गर्ने मोवाखोलाको धादिङतर्फको खण्डमा खोलाले पुल बगाएको हो । मोवाखोलाको बाढीले धादिङ र चितवन दुबै तर्फ केही घरहरु बगाएका छन् । तर मानवीय क्षति भएको छैन । धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको छ ।
धादिङमा पहिरोका कारण एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ । यता गएराति परेको वर्षाले पाल्पाको रामपुर नगरपालिका– १ स्थित स्याउली बजारका दुई घरे पुरेको छ । घर पछाडिबाट खसेको पहिराले स्थानीयवासी लक्ष्मी मल्लको दुईतले कच्ची घर र गमबहादुर मल्लको दुईतले पक्की घर पुरेको हो । पहिरो पीडितलाई अहिले स्थानीय रैनापानी सामुदायिक वनका भवनमा राखिएको छ ।
प्रतिक्रिया