रोल्पा ८ साउन । पूर्व सांसद वर्मन वुढाको निधन भएको छ ।वुढा २०४८ सालको संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं।१ वट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । रोल्पाको थवाङ घर भएका वुढालाई रोल्पाको कम्युनिष्ट पार्टीको संस्थापक मानिन्छ ।पंचायतको ३० वर्ष अनवरत सांसद रहेका वालाराम घर्तीमगरलाई हराउदै वहुदल पछि पहिलो पटक वुढा सांसद निर्वाचित भएका थिए ।
प्रतिनिधि सभा वैठकमा थवाङको स्थानीय भेषभुसामा कछाड लगाएर उपस्थित भएर चर्चित वनेका थिए । सांसद वुढालाई कछाड वुढाको नामले चर्चित थिए । मुखिया, प्रधानपंच हुदै प्रतिनिधि सभा सदस्य समेत भएका सांसद वुढा २०५२ सालको सशस्त्र युद्ध पछि भने राजनीतिमा निस्कृय रहेका थिए ।रोल्पाको कम्युनिष्ट पार्टी स्थापना गरेको भन्दै उनलाई रोल्पाका सवै धारका कम्युनिष्टहरु आदर्श मान्ने गर्दछन ।
प्यूठानको खगुलाल गुरुङ, मोहनविक्रम सिंहको सहयोगमा वुढाको अगुवाईमा २०१३ सालमा रोल्पामा नेपाल किसान संगठन नामक राजनैतिक संगठन तयार भएको थियो । सोही संगठन पछि नेपाल कम्युनिष्ट पार्टीको रुपमा विकास भएको थवाङका पुराना कम्युनिष्ट नेता पूर्णवहादुर रोकाले लेखेको थवाङको इतिहासमा उल्लेख छ ।
प्रतिक्रिया