शिक्षा

देशकै पहिलो सामुदायिक बिश्वविद्यालय स्थापना



बुटवल  १२ साउन देशमै पहिलो सामुदायिक विश्वविद्यालयको रुपमा लुम्विनी बाणिज्य क्याम्पसलाई रुपान्तरण गर्ने काम अघि बढेको छ । बुटवलमा  पटक व्यवस्थापन संकायको अध्यापनका लागि समुदायस्तरबाट संचालनमा ल्याईएको लुम्बिनी वाणिज्य क्याम्पसले आफुलाई ‘लुम्बिनी मानित विश्वविद्यालय’को रुपमा रुपान्तरण गर्ने प्रकृया शुरु गरेको छ ।स्थानीय बजारको माग र आवश्यकताको आधारमा जनशक्ति उत्पादन गर्ने भन्दै बुटवलका उद्योगी व्यवसायीको सक्रियतामा २०३८ सालमा क्याम्पस स्थापना गरिएको थियो ।स्थापना कालमा व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तहको अध्यापन शुरु गरेको क्याम्पसले ३९ वर्षको अवधीमा आईपुग्दा व्यवस्थापन विषयमा बिबिएस, बिबिए एफए, बिबिएम, एमबिएस, एमबिएस एफ र एमबिए बिएफको अध्यापन गर्दै आएको छ ।

रुपन्देहीमा रहेर प्रदेशको मात्र नभई देशकै उत्कृष्ट क्याम्पसको रुपमा आफुलाई स्थापित गरेको लुम्बिनी वाणिज्य क्याम्पसलाई संघीय र प्रदेश सरकारको नियम अनुसार मानित विश्वविद्यालयको रुपमा रुपान्तरण गर्ने प्रस्ताव अघि सारिएको हो ।

        भौतीक पूर्वाधार, दक्ष प्राध्यापक, प्रयोगशाला तथा अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर लुम्बिनी मानित विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न लागिएको क्याम्पसले जनाएको छ ।क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले क्याम्पसमा अध्यापनरत ४९ जना प्राध्यापकमध्ये विद्यावारिधि प्राप्त ६ जना एम फिल प्राप्त ११ जना र ३२ जना स्नातकोत्तर उत्तिर्ण रहेको बताए ।क्याम्पसले यस अघि नै बिबिए एफ ए, बिबिएम ए, बिएमएस, एमबिए बिएफ र एमबिएस एफ प्राज्ञिक स्वायत्तता प्राप्त कार्यक्रम सफलता पूर्वक संचालन गरिरहेकोले मानित विश्वविद्यालयका लागि क्याम्पस सक्षम रहेको उपाध्यायले दावी गरे ।

        हाल व्यवस्थापन संकायका विभिन्न कार्यक्रममा ४ हजार ४ सय ९३ विद्यार्थी अध्ययनरत रहेकोमा मानित विश्वाविद्यालयमा रुपान्तरण हुंदा विज्ञान तथा प्रविधि संकाय समेत थप हुने भएकोले यसक्षेत्रका विद्यार्थीहरु अध्ययनकै लागि बाहिर जानुपर्ने बाध्यता हट्ने छ ।मानित विश्वविद्यालयले संघीय र प्रदेश सरकारले निर्धारण गरेका मापदण्डहरु पुरा गरी अरु क्याम्पसहरुलाई सम्बन्धन दिन नपाउने गरी स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारमा आवश्यक हुने दक्ष जनशक्ति उत्पादन गर्न सक्छ ।

        यस्तो विश्वविद्यालयलाई बजारको आवश्यकता र माग अनुसारका छोटो तथा लामो अवधीका व्यवहारिक, व्यवसायीक तथा प्राविधिक पाठ्यक्रम तयार गर्ने, परिक्षा संचालन गर्ने र नतिजा प्रकाशन गर्न पाउने स्वायत्तता हुन्छ ।भारतमा हाल १ सय २७ वटा मानित विश्वविद्यालय रहेका छन् भने नेपालमा पनि राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुलाई स्वायत्त कलेजको रुपमा विकास गर्ने र गुणस्तर प्रत्यायनमा अब्बल भएका क्याम्पसहरुलाई मानित विश्वविद्यालयको रुपमा विकास गरिने उल्लेख गरिएको छ ।

        लुम्बिनी वाणिज्य क्याम्पसले पहिलो पटक २०६८ सालमा र दोश्रोपटक २०७५ सालमा गरि दुईपटक गुणस्तर तथा प्रत्यायन प्राप्त गरिसकेको छ । त्यस्तै २०७५ सालमा नेपालका सामुदायिक क्याम्पसतर्फ सर्वोत्कृष्ट क्याम्पस घोषित भएको थियो भने २०७६ सालमा प्रदेश प्रज्ञा पदक द्वितियबाट विभूषित भईसकेको छ ।क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले संघीय र प्रदेश सरकारले निर्धारण गरेका मापदण्ड पूरा गरि मानित विश्व विद्यालय बनाउने प्रस्ताव अघि सारिएको बताए ।

        मानित विश्वविद्यालयको लागि तराई क्षेत्रमा बढिमा दुई स्थानसम्म गरि कम्तिमा पच्चीस बिगाह जग्गा, शैक्षिक, प्रशासकिय र पुस्तकालयको लागि अलग अलग तीनवटा भवन, छात्रछात्राको लागि अलग अलग सुविधा सम्पन्न छात्रावास, विद्युतिय पुस्तकालय तथा ५० करोडको अक्षकोष हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ । क्याम्पस प्रमुख उपाध्यायले तोकिएका सबै मापदण्ड पुरा भईसकेको जानकारी दिए ।

        क्याम्पसलाई मानित विश्वविद्यालयका रुपमा रुपान्तरण गर्नको लागि सरोकारवालाहरु विच छलफल अघि बढाएको छ । छलफलमा प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बुटवलमा समुदाय तहबाट स्थापना भएको लुम्बिनी बाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।उनले प्रदेश सरकार शिक्षामा मौलिकता ल्याउने प्रयासमा रहेको बताए । मन्त्री बरालले आफ्नो कार्यकालमै क्याम्पसलाई मानित बिश्वबिद्यालयको रुपमा सम्पन्न गरेर छोड्ने प्रतिवद्धता व्यक्त गरे ।

        लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती डा. ह्दयरत्न बज्राचार्यले बिशिष्टीकृत रुपमा बाणिज्य संकाय मात्रै सञ्चालन गरेको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न सकिने बताए ।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६