चितवन १४ साउन । अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि चितवनको इच्छाकामना गाउँपालिका–७ का स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ । यही साउन ११ गते राति वर्षासँगै आएको बाढीले वडा नं ७ स्थित हरिपुर पुल बगाएपछि पूर्णरुपमा यातायात अवरुद्ध बनेको हो । अवरुद्ध यातायात पुनः सञ्चालन गराउन तत्काल अस्थायी रुपमा सडक निर्माणको काम शुरु भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।अस्थायी सडक निर्माणका लागि खोलामा ह्युम पाइप जडान गरी वरपर ग्याबिन, तार, जाली र ग्राभेलिङ गर्ने काम भइरहेको अध्यक्ष गुरुङको भनाइ छ ।
अस्थायी सडक निर्माणका लागि १२ ह्युम पाइप र ४० ट्रिप ढुङ्गा ग्राभेल राख्ने काम भएको अध्यक्ष गुरुङले बताउनुभयो । यही साउन १२ गतेदेखि नै अस्थायी सडक निर्माण शुरु गरिएको र एकदुई दिनभित्र अवरुद्ध यातायात सञ्चालन गरिने पनि उहाँले बताउनुभयो ।झण्डै दुई दशकअघि बनेको पुल बाढीले बगाउँदा इच्छाकामना–७ अन्तर्गत खेतबारी, स्याङ्दी, सिमलढाप, गर्दासलगायत नागरिक हरिपुर पुल हुँदै सदरमुकाम भरतपुर र गाउँपालिका केन्द्र कुरिनटार आउजाउ गर्ने गर्थे । बाढीले पुल भत्काएपछि त्यस भेगका करीब तीन हजारभन्दा बढी नागरिकलाई यातायातमा आउजाउ गर्न असुविधा भएको छ ।
प्रतिक्रिया