कपिलवस्तु
२० साउन २०७७
श्वास प्रश्वासमा समस्या देखिएका कपिलवस्तु नगरपालिका १ तौलिहवाका २२ वर्षीय मासु व्यापारीमा कोरोना सङ्क्रमण देखिएको छ । निमोनिया लागेको शङ्का लागे पछि उनी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागी गएका थिए । स्वाब फेर्न गारो भएपछि उनलाई पिसिआर परीक्षण गरिएको थियो । सोमवार कोरोना भएको पुष्टि भएको थियो । सङ्क्रमितले जिल्ला सदरमुकाम तौलिहवामा मासुको व्यापार गर्दै आएका थिए ।
हाल उनी आइसियुमा उपचाररत रहेका छन् । कपिलवस्तुमा अहिले सम्म ३ कोरोना सङ्क्रमितको आइसियुमा उपचार भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए । थापाका अनुसार कोरोना सङ्क्रमित ती व्यापारी बाहिर कतै गएका थिएनन् । संक्रीमतको कनट्याक्ट ट्रेसिंग भई नजिक सम्पर्क भएकाको बुधवार स्वाब सङ्कलन हुने बताइएको छ ।
कपिलवस्तुमा लकडाउन खुले पछि केही समुदायमा कोरोना सङ्क्रमण भएको देखिन सुरु भएको छ । यस अगाडी शिवराज नगरपालिकामा समुदायमा रहेका १३ जना र तौलिहवाका १ व्यापारीमा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्लाका कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय १ पुगेको छ । जिल्लामा ५३ सङ्क्रमित उपचारमा रहेका छन् ।
प्रतिक्रिया