कपिलवस्तु २२ साउन । गत मङ्गलवार नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरका शिक्षिका कुला कुमारी जिसी कक्षा ४ का ५ जना विद्यार्थीलाई नेपाली विषय पढाउँदै थिइन । नगरपालिकाले वैकल्पिक शिक्षा प्रदान गर्ने निर्देशन अनुसार दैनिक ३ घण्टा विद्यालय सञ्चालन भई रहेको थियो । दैनिक एक तहका बालबालिकालाई अलग अलग कोठामा राखी शिक्षण गरिन्थ्यो । उनले पढाउँदै गर्दा शिक्षकमा कोरोना सङ्क्रमण भएको हल्लाखल्ला सुरु भयो । कक्षा तुरुन्त बन्द गर्न लगाइ उनलाई घर पठाइयो ।
घरमा पुगेपछि मात्र जिसीले कोरोना सङ्क्रमण भएको थाहा पाइन । उनका पतिले कोरोना सङ्क्रमण भएको जानकारी दिए पछि एक छिन उनी स्तब्ध भइन । त्यसपछि अलग कोठा भित्र गएर बसिन् । शिवराज नगरपालिकामा वैकल्पिक शिक्षाका काममा खटिएका शिक्षकहरूमा कोरोना देखिए पछि कपिलवस्तुमा समुदाय र विद्यालयमा सञ्चालन भएको पढाइ अचानक बन्द गरियो । नेपाल आदर्श माविका ४ शिक्षकमा कोरोना सङ्क्रमण देखिएको पुष्टि भएको छ ।
कक्षा सञ्चालनका लागी समुदाय र विद्यालयमा आएका शिक्षक नै सङ्क्रमित भए पछि कपिलवस्तुका विद्यालय कसरी सञ्चालन गर्ने भन्ने अन्योल वनेको छ । जिल्लाको कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना देखिएको छ । कपिलवस्तुमा शिवराज नगरपालिकाका ४ शिक्षक, कपिलवस्तु नगरपालिकाका १ शिक्षक र विजयनगर गाउँपालिकामा अध्यापन गराउने कृष्णनगर नगरपालिकाका १ जना शिक्षक कोरोना देखिएको छ । कृष्णनगर नगरपालिकाका ४ विद्यार्थीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । शिवराज नगरपालिकामा शिक्षकको मात्र कोरोना परीक्षण गरिएको छ । उनीहरूले पढाएका विद्यार्थीलाई नजिक सम्पर्क आउनेको सुचीमा समावेश समेत गरिएको छैन ।
वैकल्पिक शिक्षाका क्रममा सङ्क्रमण भयो
सङ्क्रमित शिक्षकको ट्राभल हिस्ट्री नभएको कारण समुदायबाट शिक्षकमा कोरोना सङ्क्रमण भएको देखिन्छ । सङ्क्रमित शिक्षक जिसी भन्छिन्, ‘ विद्यालयले कक्षा सञ्चालनका लागी अभिभावक र बालबालिका भेट्न टोल टोलमा खटाएको थियो । शिवपुर टोलको एक घरको आँगनमा अभिभावक र उनका २ बालबालिका सँग छलफल गर्दै थिए । अचानक पानी परे पछि ओत लाग्न घर भित्र छिर्नु परेको थियो । त्यो घरमा एक जना भारतबाट आएर घरमै बसेका थिए । मास्क लगाएर एक छिन बसेको मात्र थिए । ती ब्याक्तीमा कोरोना देखिए पछि मैले स्वाब परीक्षण गरेको थिए । हाम्रो विद्यालयका १० जना शिक्षकको पिसीआर परीक्षण गर्दा २ जनामा कोरोना देखिएको थियो ।
कोरोना सङ्क्रमित अर्का शिक्षक प्रकाश अधिकारी भन्छन्, ‘ म अत्यन्त सचेत थिए । भिडभाडमा नबस्ने, मास्क सधैँ प्रयोग गर्ने गर्थे । सेनिटाईजर बोकेर हिँडेकै थिए । तर आफू सङ्क्रमित हुँदा अचम्म लागेको छ । विद्यालयको बैठक सानो कोठा हुन्थ्यो । ८५ जना बस्दा सामाजिक दुरी पालन गर्न सकिएन । जिल्ला र भारतमा बस्ने शिक्षक समेत छन् । बैठकका कारण सबै शिक्षक र विद्यार्थीमा जोखिम बढेको छ ।
तत्काल विद्यालय खोल्दा जोखिम वढन सक्छ
कपिलवस्तुका समुदायमा कोरोना सङ्क्रमण फैलिरहँदा विद्यालय सञ्चालन गर्दा अझ जोखिम बढ्न सक्ने देखिन्छ । समुदायका कोरोना सङ्क्रमणको अवस्था थाहा नभएकोले तत्काल विद्यालय खोल्न नहुने सङ्क्रमित शिक्षक प्रकाश अधिकारीले बताए । बालबालिकाहरू फरक फरक समुदायबाट आउँछन् । उनीहरू समूहमा नजिकिएर बस्न खोज्ने हुँदा सङ्क्रमण फैलिन सक्ने देखिन्छ । जिल्लामा शिक्षक र विद्यार्थी सङ्क्रमित भएको पुष्टि हुँदा विद्यालय सञ्चालन गर्न नहुने सङ्क्रमित शिक्षकको भनाई रहेको थियो ।
प्रतिक्रिया