स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै प्रशासन कार्यालय अघि आफन्तद्धारा बिरोध प्रर्दशन
चियाले पोलेर कपिलवस्तु नगरपालिका– ८ मैनिहवाकी एक बर्षकी बालिकाको शनिवार मृत्यु भएको छ । दिउसो ५ बजे गुलाम मुसलमानकी छोरी सोफियाको मृत्यु भएको हो । चियाले पोले पछि उनलाई कपिलवस्तु अस्पतालमा उपचारका लागी ल्याइएको थियो ।
शुद्धोदन गाउँपालिकाको लवनी घर भएका गुलामले मैनिहवामा सोफिया आल्मुनियम पसल चलाउँदै आएका थिए । पसलमा आमा निशा खातुनले चिया खाइरहेका बेला छोरीले तान्दा छातीमा तातो चिया पोखिएको थियो । चियाले पोले पछि वालिकालाई तत्कालै उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको मृतकका बाबुले बताए ।
अस्पतालमा पुराएको केही बेरमा छोरीको मृत्यु भएको थियो । उपचारमा अस्पतालको इमरजेन्सी फाटका कर्मचारीले गम्भीर लापरबाही गरेको गुलामले आरोप लगाएका छन् । ‘ सास लिन अप्ठेरो भएको बेला छोरीलाई अक्सिजन नै दिइएन, मलाई औषधी लिन पठाइयो ’ उनले भने ‘ औषधी खाएको केही बेर मै छोरीको मृत्यु भयो ’ । स्वास्थ्यकर्मीको लापरबाहीले छोरीको ज्यान गएको भन्दै मृतक परिवार र छिमेकीहरूले प्रशासन कार्यालयमा साँझ विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले सत्य छानबिन गरी लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् । अहिले अस्पतालमा सुरक्षाका लागि प्रहरी खटिएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट किशोर बन्जाडेले बालिकाको उपचारमा लापरबाही नभएको बताए । जलेको बालिका भन्दा गम्भीर अवस्थामा रहेका बिरामीहरूको स्वास्थ्यकर्मीले उपचार गरिरहेको बेला घाइते बालिकालाई अस्पताल ल्याइएको थियो । घाइते बालिकालाई मलम लगाउने, औषधी दिइएको र उपचारको बेला बालिका गम्भीर नभएको बन्जाडेले बताए ।
प्रतिक्रिया