वीरगञ्ज २६ साउन। वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । गम्भिर अवस्थामा अस्पताल ल्याइएकाले विरामीलाई बचाउन नसकिएको डा सिंह बताउँछन् ।‘अवस्था बिग्रेपछि अन्तिम अवस्थामा मात्रै अस्पताल ल्याउने क्रम बढेको छ । राम्रोसँग उपचार गर्न नपाउँदै विरामीको मृत्यु भइसक्छ,’ उनले भने, ‘समयमै अस्पतालमा ल्याएको खण्डमा आईसीयु र भेन्टिलेटरमा राखेर भए पनि ज्यान जोगाउन प्रयास गर्न सकिन्थ्यो ।
’अस्थायी कोभिड विशेष अस्पतालमा शंकास्पद केसका लागि ६ वेड क्षमताको आकस्मिक कक्ष बनाइएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि विरामीलाई वीरगञ्जका अन्य निजी अस्पतालले भर्ना लिने गरेका छैनन् । अन्त्यमा कोभिड अस्पतालमा पुगेर विरामीले प्राण त्याग गर्ने गरेका छन् । ४५ वर्षीया महिलाको मृत्यु भएसँगै वीरगञ्जमा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १८ पुगेको छ । वीरगञ्जमा फेला परेको एउटा बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बाराका २ जना र रौतहटका १ जनाको पनि उपचारको क्रममा वीरगञ्जमै मृत्यु भएको थियो ।
प्रतिक्रिया