काठमाडौं, २७ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानका लागि दुई अध्यक्षबीच निरन्तर सम्वाद भइरहेको वताउदै कुरो मिल्दासाथ स्थायी कमिटी वा सचिवलायको बैठक बस्ने प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल वताउनु भएको छ । उहाले दुई शीर्ष नेताबीच विभिन्न माध्यमबाट सम्वाद भइरहेको बताउनु भयो । ‘नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच निरन्तर सम्वाद भइरहेको छ’, एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा रिमालले भने, ‘पत्रकारहरूले थाहा नपाएका मात्रै हो । उहाँहरूका बीच सम्वाद भइरहेको छ ।’
सल्लाहकार रिमालले सम्वाद गर्नका लागि दुई शीर्ष नेताबीच भेट हुनै पर्ने भन्ने नरहेको बताउनु भयो । ‘उहाँहरूका बीच टेलिफोन सम्वाद पनि भएको छ । विभिन्न माध्यमबाट सम्वाद पनि भइरहेको छ’, उहाले भन्नु भयो ‘सहमतिको प्रयास भइरहेको छ । कुरा मिल्नेवित्तिकै सचिवालयको बैठक बस्छ । त्यसपछि स्थायी समितिको बैठक बस्नेछ ।’
प्रधानमन्त्री ओलीले पुरानो दल नेकपा (एमाले) ब्युझाउन सक्रिय भएको आरोपलाई सल्लाहकार रिमालले अस्वीकार गर्नु भयो । ‘हामीले एमाले पार्टी छाडेर नेकपा बनाएका छौँ । माओवादी छाडेर नेकपा बनाएका छौँ’, उहाले भन्नु भयो ‘आफैले बनाएको पार्टीलाई छाडेर नयाँ पार्टी बनाउने रहर कसैलाई हुँदैन र छैन ।’आफ्नै घरमा आगो लगाउने इच्छा कसैलाई हुदैन उहाले भन्नु भयो । प्रधानमन्त्री ओली र उहाँको सचिवालयमाथि निरन्तर प्रहार भइरहेको प्रमुख राजनीतिक सल्लाहकार रिमालले बताउनु भएको छ । रिमालले ‘प्रधानमन्त्री र उहाँको सचिवालयमाथि शुरुदेखि प्रहार भइरहेको दावि गर्नु भयो । रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पदीय जिम्मेवारीलाई ख्याल राख्नुपर्ने बताउनु भएको छ । ‘पार्टीको प्रवक्ताले पार्टीको निर्णयका बारेमा भन्ने हो’, उहाले भन्नु भयो ‘नारायणकाजीजीले आफ्नो जिम्मेवारी सहि रुपमा निभाउनु भएन कि भन्ने मेरो बुझाइछ ।’
प्रतिक्रिया