काठमाडौँ ४ भदौ । बिहीबार देशभरको सामान्य बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेकाले मौसम बदली भएको हो ।अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू–भागका केही स्थानमा वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।
बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राति पनि देशभर सामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत हुनेछ ।देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
प्रतिक्रिया