काठमाडौं १० भदौँ । काठमाडौं उपत्यकामा कम्तीमा पाँच हजार आइसोलेसन बेड निर्माण गर्नका लागि तीन वटै सरकारका प्रतिनिधिले काम थाल्ने भएका छन्।स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको उपस्थितिमा जमलस्थित होटल यल्लो प्यागोडामा मंगलबार भएको छलफलमा आइसोलेसन बेड बनाउने ठाउँ खोज्न समिति गठन गरिएको छ।आइसोलेसन बेड निर्माणमा संघीय, प्रदेश र स्थानीय तीनै वटा तहका सरकारको समन्वय रहने छ।तीन वटै सरकारका प्रतिनिधि र सांसदसहितको बैठकले यसका लागि आवश्यक पर्ने ठाउँ खोज्ने निर्णय गरिएको छलफलमा सहभागी काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।
आइसोलेसन बेड बनाउन सकिने सम्भावित ठाउँ पहिचान गर्न सांसद कृष्ण राईको नेतृत्वमा सांसद जीवनराम श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य दीपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा खेम कार्कीलाई जिम्मेवारी दिइएको डंगोलले बताए। समितिले चाँडै नै काठमाडौं, भक्तपुर र ललितपुरमा उचित स्थान छनौट गर्ने बताइएको छ।सकेसम्म चाँडै निर्माण गरिने आइसोलेसन बेडमा संक्रमण देखिएका तर लक्षण नदेखिएकाहरूलाई राखिने छ।छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पनि थिए। ‘तीन वटै सरकार मिलेर कम्तीमा ५ देखि ६ हजार बेडको आइसोलेसन बनाउने र त्यसका लागि आवश्यक काम सुरू गर्ने निर्णय भएको हो,’ डंगोलले बताए।
छलफलमा बागमती प्रदेश सरकारले स्थापना आइसोलेसन केन्द्रमा आवश्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्ति उपलब्ध संघीय सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आग्रह गरेको छ।बागमती प्रदेशका अन्य जिल्लामा क्वारेन्टिन र आइसोलेसन केन्द्र भए पनि काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या अत्यधिक देखिएपछि व्वस्थापनमा कठिनाइ भइरहेको छ। अहिले भएका आइसोलेसनहरू सबै भरिएका छन्।तीनै तहका सरकारसँगको सहकार्यमा संक्रमितहरूलाई व्यवस्थापन गर्नका लागि आयोजना गरिएको छलफलमा स्वास्थ्य मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको डंगोलले बताए।
छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले बागमती प्रदेश सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रका लागि त्रिभुवन विश्वविद्यालयका भवन तथा स्थान उपलब्ध गराउने बताए। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एकीकृत स्थानमा केन्द्र निर्माणमा जोड दिए।छलफल कार्यक्रममा स्वास्थ्यमन्त्री ढकाल, नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ९ का प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, नेकपा काठमाडौं अध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य कृष्ण राई, नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, त्रिभुवनविश्व विद्यालयका उपकुलपति डा धर्मकान्त बाँस्कोटा, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, बागमती प्रदेसका प्रदेशसभा सदस्य दीपक निरौला, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा , स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा। खेम कार्की, स्वास्थ्य व्यवसायी परिषदका रजिस्ट्रार पुष्प खनाल, काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल लगायत थिए।
स्रोत : सेतोपाटी
प्रतिक्रिया