सूचना र प्रविधि

सातवटै प्रदेश आइसोलेशनको संख्या थप्नतर्फ केन्द्रीत



काठमाण्डौ १२ भदौँ । कोरोना सङ्क्रमितको संख्या थपिँदै जाँदा रोकथाम र नियन्त्रणमा चुनौती बढेको छ । सातवटै प्रदेशले केन्द्रीय सरकारको निर्देशनमा र पालिकालाई साथमा लिएर कोरोना नियन्त्रणका लागि सबै शक्ति लगाएको बताएका छन् ।तर सीमित स्रोत र साधनका बीच काम गर्न प्रदेश सरकारलाई त्यति सजिलो छैन । अहिले नै अस्पतालहरुमा आइसोलेशन, भेन्टिलेटर र आईसीयूको अभाव हुन थालिसकेको छ । यसकै कारण लक्षण नदेखिएका बिरामीलाई सम्भव भएसम्म घरमै बस्न सरकारले भनेको छ । केन्द्र सरकारले कोरोना पोजेटिभ नै भए पनि १४ दिनपछि अस्पतालबाट डिस्चार्ज गर्न सकिने बताएको छ ।

     विश्व स्वास्थ्य संगठनले कोरोना पोजेटिभ भएको ११ दिनपछि अरुमा सार्ने सम्भावना नहुने यसअघि नै बताइसकेको छ । त्यसैले पनि सरकारले १४ दिनपछि डिस्चार्ज गर्ने रणनीति बनाएको हो ।सातवटै प्रदेश सरकार यतिबेला आइसोलेशनको संख्या थप्नतर्फ केन्द्रीत छन् । प्रदेश १ सरकारले आइसोलेशन बेड थप्नका लागि पहल थालिसकेको छ । लगातार सङ्क्रमित बढ्दै जाँदा भएका आइसोलेशनले नधान्ने भएकाले अरु पनि आइसोलेशन थप्ने तयारी थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मेचीनगर, रंगेली, विराटनगर र मेची अस्पतालका साथै पहाडी जिल्लाका अस्पतालहरुमा छुट्टै आइसोलेशन सेवा सुरु गरिएको मन्त्रालयका स्वास्थ्य शाखाका डाक्टर सरोज विशालले जानकारी दिनुभयो । यस्तै निजी अस्पतालहरुसँग पनि समन्वय थालिसकेको उहाँले बताउनुभयो । प्रदेश २ सरकारले पनि आइसोलेशनको संख्या थप गर्न लागेको जनाएको छ । अहिले १० हजार २७ वटा बेड क्षमता रहेकोमा केही बढाउने तयारी भइरहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

       वाग्मती प्रदेश सरकारले पनि थप आइसोलेशनको व्यवस्था गर्न लागेको जनाएको छ । केही दिनभित्रै काठमाण्डौको खरिपाटीमा २ सय बेडको आइसोलेशन बनाउने तयारी भइरहेको वाग्मती प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम राज सेढाईँले जानकारी दिनुभयो ।

           अरु संख्या थप गर्नेबारे पनि छलफल भइरहेको उहाँको भनाइ छ ।  वाग्मतीमा आईसीयू र भेन्टिलेटर गरेर १६ वटा थप्ने तयारी भइरहेको छ । उपत्यका नगरपालिका फोरमका पदाधिकारीको बैठकले पनि काठमाण्डौ उपत्यकामा तत्काल ६ हजार एकीकृत आइसोलेशन बनाउने निर्णय गरिसकेको छ ।गण्डकी प्रदेशमा अहिले  एक हजार ३ सय ९७ वटा आइसोलेशन बेड छन् ।

          यो संख्या कम हुने भएकाले केही थप गर्न लागिएको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा १५ बेड, गण्डकी मेडिकल कलेज पोखरामा १५ बेड, चरक मेमोरियल अस्पताल पोखरामा ३० बेड, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेड, जीपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँमा ३० बेड, लायन्स क्लब सिसुवा सामुदायिक अस्पताललाई ५० बेडको आइसोलेशनको रुपमा प्रयोग गर्ने  मन्त्रालयले निर्णय गरेको छ । 

     प्रदेश ५ सरकारसँग विभिन्न अस्पतालमा गरी ४ हजार २ सय ७४ बेड क्षमताको आइसोलेशन रहेको छ । तत्कालका लागि अभाव हुने अवस्था छैन । अभाव हुने अवस्था आएमा थप्ने प्रदेश सरकारले जनाएको छ । कर्णाली प्रदेश सरकारले पनि आइसोलेशन थप गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखेको छ ।प्रदेशस्तरीय कार्यदल गठन भइसकेको छ ।  कार्यदलले आइसोलेशन थप गर्नेबारे छिट्टै निर्णय गर्ने प्रदेशको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।  अरु प्रदेशमा जति कोरोना सक्रमित कर्णाली प्रदेशमा छैनन् ।

      तर जोखिम बढेकाले आफूहरुले त्यसैअनुसार तयारी गरेको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा अहिले ३ सय १० वटा आइसोलेशन बेड र १२ वटा भेन्टिलेटर रहेकोमा बढाउने तयारी भइरहेको छ । भारतसँग सीमा जोडिएका र भारतमा अझै पनि सङ्क्रमितको संख्या बढिरहेकाले थप जोखिम हुन सक्ने भन्दै आइसोलेशन बेड थप्ने तयारी भएको हो । कोरोनाका बिरामी बढेसँगै आईसीयू, भेन्टिलेटर र आइसोलेशनको माग पनि बढिरहेको छ । 

यो समाचार उज्यालो अनलाईनमा जानुका दुवाडीले लेख्नुभएको छ ।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६