गुल्मी १३ भदौ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत साउन ३ गते हेलिकप्टरबाट गुल्मीको तम्घास लगेको पीसीआर मेसिनले काम नगरेपछि कम्पनीमै फिर्ता पठाइएको छ । जिल्लामा भएका ल्याब टेक्निसियनले मेसिन चलाउन नजानेपछि १५ दिनअघि संघीय स्वास्थ्य मन्त्रालयबाट प्राविधिक आएका थिए । दक्ष प्राविधिकले चलाउँदा समेत मेसिनको सफ्वेयरले काम नगरेपछि गत भदौ ७ गते मन्त्री ज्ञवालीका प्रमुख स्वकीय सचिव जंगबहादुर नेपालीले तम्घासबाट काठमाडौं लानु भएको हो । काठमाडौंबाट आएका दक्ष ल्याब टेक्निसियनले मेसिनका सबै सफ्टवेयर छैनन्, रिपोर्ट सही निकाल्दैन भनेपछि हिमालय एयरलाइन्सलाई फिर्ता दिएको नेपालीले वताउनु भयो ।
अहिले मेसिन उत्पादन गर्ने चिनियाँ कम्पनीसँग अनलाइनमा कुराकानी भएको छ । स्वास्थ्यजस्तो संवेदनशील र कोरोनाजस्तो रोगको गलत रिपोर्ट नआओस् भनेर फिर्ता लगिएको हो । यही मेसिनमा थप सफ्टवेयर हालेर वा नयाँ मेसिन ल्याएर भए पनि तम्घासमा छिट्टै पीसीआर मेसिन जडान गरिने भएको छ । मन्त्री ज्ञवालीले रेसुंगा नगरपालिकालाई सञ्चालन गर्न नगर प्रमुख डिल्लीराज भुसाललाई मेसिन हस्तान्तरण गर्नु भएको थियो । जिल्लाका १२ स्थानीय तहले मेसिन सञ्चालन गर्न गाउँपालिकाले ५ लाख र नगरपालिकाले १० लाख रुपैयाँका दरले संकलन गर्ने निर्णय गरेका थिए ।
यता जिल्ला प्रशासनले गुल्मी जानका लागि पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने शर्त लगाएको छ । कोरोना भाइरसको संक्रमण रुपन्देही र कपिलवस्तुबाट गुल्मीमा जानसक्ने भन्दै गुल्मी प्रशासनले पीसीआर रिपोर्ट नेगेटिभ नभए १० दिन क्वारेन्टिन राख्ने जनाएको हो । कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि जिल्लामा भित्रिने सीमा नाकाहरु, रिडी, हर्मिचौर, पुर्तिघाट, वामी, नेटा, सौतामारे लगायतका स्थानहरुबाट प्रवेशमा कडाई गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनु भयो ।
प्रतिक्रिया