काठमाडौं १४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न सभामुख सापकोटा शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।भेटमा बाढी पहिरोबाट विस्थापित सिन्धुपाल्चोकवासीलाई सुरक्षित स्थानमा स्थायी आवास बनाएर स्थानान्तरण गर्नेबारे छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवम् अस्थायी बसोबासको प्रबन्धबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
भेटमा सभामुख सापकोटाले जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरुको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयहरु उल्लेख गरेका थिए ।जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सम्बन्धित कार्यहरु यथाशीघ्र अघि बढाइने बताएको न्यौपानेले जानकारी दिए ।
साउन ३० गतेको लिदी पहिरोबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका १ बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । यही भदौ १० गते सभामुख सापकोटाले बाँसखर्क पुगेर अस्थायी बसोबासका लागि आएका लिदीबासीलाई सोलार, भाँडाकुँडा, लत्ताकपडा एवम् सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाका लिदी, जम्बु, मेलम्ची, फुल्पिङ लगायतका स्थानमा बाढी र पहिरोमा परी यस वर्ष मात्रै ५६ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् ।
प्रतिक्रिया