काठमाण्डौ १४ भदौँ । काठमाण्डौ उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सुरु भएको छ ।नेपाल मेडिकल एसोसिएशन, रोटरी क्लब अफ काठमाण्डौ हेल्थ प्रोफेसनल, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसानको सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा डाक्टरको सहजताको लागि आइतबारदेखि निःशुल्क बस सेवा सुरु भएको हो । नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डाक्टर प्रकाश पौड्यालले गाडीका कारण स्वास्थ्य प्रवाहमा बाधा नपुगोस् भन्ने उद्देश्यले निःशुल्क बस सेवा सुरु गरेको जानकारी दिनुभयो ।
बस बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म र बेलुका साढे ५ बजेदेखि साढे सात बजेसम्म चल्नेछ ।बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल टिचिङ, कान्ति बाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म र अर्को बस पाटन अस्पतालदेखि सुरु भइ थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ । अहिले तीन वटा बसले सेवा दिए पनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने एसोसिएशनका कार्यकारी सदस्य डाक्टर रितेश थापाले जानकारी दिनुभयो । यस्तै उहाँले बस चढ्न कुनै समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया