रुपन्देही, १७ भदौ ।रुपन्देहीमा बुधवार कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरहवाको भीम अस्पतालमा उपचाररत दुईजना रहेका छन । त्यसैगरी बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका वडा नंं ६ सब्जीमण्डीका कोरोना संक्रमित ५७ बर्षीय पुरुषको मृत्यु भएको छ । उपचाररत उनको दिउँसो आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई बुटवलको कोरोना बिशेष अस्पतालबाट यही १५ गते भैरहवाको भीम अस्पताल लगिएको थियो ।
यस्तै आजै भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षिय महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि बुटवल आएकी उनलाई बेड अभावका कारण भदौ १५ गते भिम अस्पतालको आइसोलेसनमा पठाईएको थियो । नवलपरासीको रामग्राम नगरपालिका–५ की ६५ वर्षिय महिलाको गएराती राती ९ः४५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले बताउनु भयो ।
मृतक महिलाको आइसीयूमा राखेर उपचार भइरहेको थियो । उनमा मधुमेह, उक्त रक्तचापको समस्या रहेको भिम अस्पतालले जनाएको छ ।यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलबस्तुकी एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको कृष्णनगर ८ नगरपालिका वडा नं ११ की ६० वर्षीया महिलाको मृत्यु भएको हो ।
यही भदौ ७ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचापको समस्या रहेको र उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । यसैगरी प्रदेश ५ मा ४५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कपिलवस्तुमा ११, पाल्पामा १, बाँकेमा ९, गुल्मीमा १०, अर्घाखाँचीमा १, रुपन्देहीमा ९, बर्दियामा २ र पश्चिम नवलपरासीमा २ जना नयाँ संक्रमित थपिएका हुन् । जसमा ३१ जना पुरुष र १४ जना महिला छन् ।
यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या ६ हजार ६१५ पुगेको छ । १ हजार ४७३ जना सक्रिय संक्रमित उपचाररत छन् । यीमध्ये करिब १५ प्रतिशत संक्रमितमा लक्षण देखापरेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो । उपचारपछि ५ हजार ६२ जना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोनाका कारण प्रदेशमा ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । प्रदेश सरकारद्वारा संचालित कोरोना विशेष अस्पतालमा लक्षणसहितका र गम्भीर बिरामी ११३ जनाको उपचार भइरहेको डा. पौडेलले जानकारी दिनुभयो ।
जस अनुसार लुम्बिनी प्रादेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्पताल धागो कारखानामा सामान्य कक्षमा २० जनाले उपचार गराइरहेका छन् भने १५ जनाको आईसीयू र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै, भीम अस्पताल भैरहवामा २१ जनाको सामान्य र ४ जनाको आईसीयूमा उपचार भइरहेको छ । प्रदेश सरकारले संचालन गरेका विभिन्न ठाउँका १३७ वटा आइसोलेसन सेन्टरमा लक्षणविहीन १ हजार २६३ जना संक्रमितलाई राखिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया