स्वास्थ्य

डाक्टर गोविन्द केसीको सत्याग्रह फेरि स्थगित



जुम्ला १८ भदौँ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सत्याग्रह फेरि स्थगित गर्नुभएको छ । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधारसहित डाक्टर विषय पढाइलगायतका माग राख्दै सत्याग्रह बस्ने भन्दै जुम्ला आउनुभएको थियो । तर कोरोनाको प्रभाव बढेपछि केही समयका लागि भन्दै उहाँले सत्याग्रह स्थगित गर्नुभएको हो ।डा. केसीले प्रेस विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिनुभएको हो । विज्ञप्तिमा उहाँले भन्नुभएको छ, ‘महामारी फैलिँदै जाँदा जुम्लाबासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरिएको छ ।’  

    यसैगरी  सरकारले आफ्ना माग पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रह गर्ने जानकारीसहित उहाँले चेतावनीसमेत दिनुभएको छ । डा. केसीले विज्ञप्तिबाटै यस्तो जोखिम समयमा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीहरुलाई नियमित सेवा सुविधाका साथै जोखिम भत्ता दिलाउन सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।उहाँले गएको साउन ११ गते जुम्लामा नै पत्रकार सम्मेलन गरेर तीन बुँदे माग सार्वजनिक गर्नुभएको थियो । चिकित्सा क्षेत्रका ती माग तीन हप्तापछि सरकारलाई पूरा गर्न र माग पूरा नभए जुम्लामा सत्याग्रह बस्ने बताउनुभएको थियो ।यसैगरी डा. केसीले साउन ३२ गते फेरि पत्रकार सम्मेलन गर्दै भदौ ११ गते अनसनको समय सार्नुभएको थियो । यसैगरी भदौ ११ गते पनि डा. केसीले सत्याग्रह बस्ने वातावरण भएन । स्थानीय प्रशासनको अनुरोध भन्दै एक हप्तापछि सत्याग्रह सार्नुभएका केसीले फेरि एक विज्ञप्ति निकाल्दै केही समयका लागि स्थगन गर्नुभएको हो । 

यस्ता छन् उहाँका माग– 

डा. केसीले राख्नुभएको मागमा कर्णाली प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस सञ्चालन, गेटा मेडिकल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन सुरु गरिनुपर्ने भनिएको छ ।सरकारले २०७५ साल साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनुपर्ने लगायतका माग रहेका  छन् । 

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६