ब्रेकिंग न्युज

बाढीपहिरो प्रभावित बालबालिकाका लागि ‘शिक्षा तथा भविष्य कोष’



बागलुङ३०भदौँ।जिल्लाकोढोरपाटन नगरपालिका–९ बोबाङका बाढीपहिरो प्रभावित बालबालिकाका लागि ‘शिक्षा तथा भविष्य कोष‘’ स्थापना गरिने भएको छ । बागलुङ र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाका स्वयंसेवी पाँच महिलाको आर्थिक सहयोगमा सो कोष स्थापना गर्न लागिएको हो । ढोरपाटन नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप राहत कोषअन्र्तगत रहने गरी सो कोष स्थापनाका लागि ती महिलाले रु २ लाख ५६ हजार ९ सय ३१ सहयोग गरेका छन् ।

           उक्त कोषको ब्याजबाट बाढीपहिरोमा परी अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविष्यमा सीप तथा रोजगारीका लागि खर्च गरिनेछ । जिल्लाको गल्कोट नगरपालिका–८ की पार्वती हितान, काठेखोला गाउँपालिका–२ की इन्द्रकुमारी काउचा, सोही गाउँपालिका–३ की सावित्री खड्का, बागलुङ नगरपालिका–१ की जमुना थापा र सोही नगरपालिका–१३ की यशोदा शर्माले सो कोष स्थापनाका लागि उक्त रकम सहयोग गर्नुभएका हुन् । उहाँहरुकै आग्रहमा नगरपालिकाले ‘बालबालिकाका लागि शिक्षा तथा भविष्य कोष’ स्थापना गर्न लागेको हो । यो कोषले पीडित बालबालिकाको शिक्षादिक्षामा सहयोग गर्ने नगर उपप्रमुख करमती पुनले बताउनुभयो । 

          ढोरपाटनका बाढीपहिरा पीडित महिला तथा बालबालिकाका लागि ती महिलाले जिन्सी सामग्री सङ्कलन गरी वितरणसमेत गरेका छन् । वितरण गरिएका सामग्रीमा महिलाका लागि लुङ्गी एक सय थान, पेटीकोट एक सय थान, टि–सर्ट एक सय थान, भित्रीवस्त्र ९\९ दर्जन, च्यादर ८० थान, प्याड २ बन्डल, किशोरीका लागि सुरुवाल ४० थान, चप्पल १०४ थान, टि–सर्ट ४० थान, भित्रीवस्त्र ३ दर्जन ४ थान, सेन्डो ३ दर्जन, स्यानिटरी प्याड ४० थान, बेलुन चप्पल ३१ थान र बालबालिकाका लागि कपडा ३१ थान, टोपी २७ थान, बिस्कुट ५ दर्जन, चकलेट २ पोका र नौ महिने शिशुका लागि ब्लाङ्केट एक थान, खेलौना ३५ थानलगायत छन् । ती सामग्रीको मूल्य रु २ लाख ४४ हजार ८ सय रहेको बताइएको छ । 

         बागलुङको जैमिनी नगरपालिकाले पहिरामा परी मृत्यु भएकाको परिवारलाई रु २५\२५ हजार काजकिरिया खर्च उपलव्ध गराएको छ ।गत आइतबार र सोमबार वर्षासँगै आएको पहिरामा परी मृत्यु भएका तीन जनाको परिवारलाई रु २५ हजारका दरले काजकिरिया खर्च उपलव्ध गराएको नगरपालिकाले जनाएको छ । पहिरोमा परी मृत्यु भएका जैमिनी नगरपालिका–१ कुश्मीशेरा टुनीबोटकी लक्ष्मीपौडेल र हरिकृष्ण पौडेल तथा वडा नं ५ की जालपादेवी पौडेलको परिवारलाई तत्कालै किरिया खर्चबापत सो रकम उपलव्ध गराएको नगरप्रमुख इन्द्रराज पौडेलले बताउनुभयो ।

          “तत्कालको समस्या समाधान गर्नु हाम्रो दायित्व हो, मृत्यु संस्कार पूरा गर्नका लागि स्थानीय सरकारले सो रकम सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “बाँकी राहत र पुर्नस्थापनाका लागि प्रदेश र सङ्घीय  सरकारसँग समन्वय गर्छौं ।” मृतकको परिवारलाई घटनास्थलमै पुगेर नगदै प्रदान गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो । दुई दिनको निरन्तर पहिराले जैमिनीमा आठ घर पुरिएका छन् भने ३४ घर उच्च जोखिममा छन् । घर पुरिएपछि टुनीबोटका २५ जनालाई आफन्तको घरमा राखिएको छ । 

प्रकाशित : ३० भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६