काठमाण्डौ ४ कार्तिक । प्रस्तावित राजदूतविरुद्ध उजुरी गर्ने उजुरीकर्ता सम्पर्कमा नआएपछि राजदूतको संसदीय सुनुवाइ प्रक्रिया लम्बिएको छ ।असोज १५ गतेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको राजदूतमा डाक्टर युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि डाक्टर निर्मलकुमार विश्वकर्मालाई नियुक्तिको लागि प्रस्ताव गरेको थियो ।
त्यसपछि संसदीय सुनुवाइ समितिले गएको असोज २१ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेकोमा अमेरिकाको राजदूतका लागि प्रस्तावित डाक्टर खतिवडा र बेलायतको राजदूतका लागि प्रस्तावित रेग्मीविरुद्ध ४ वटा उजुरी परेको छ ।तर अहिलेसम्म उजुरीकर्ता सम्पर्कमा नआएपछि समितिले सार्वजनिक सूचना निकालेर आउँदो १७ गते बिहान ११ बजे सिंहदरबारमा रहेको संघीय संसद् सचिवालयमा उपस्थित हुन आह्वान गरेको हो । १७ गतेका लागि तोकिएको छलफलमा पनि उजुरीकर्ता उपस्थित नभए समितिले सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।
प्रतिक्रिया