रुपन्देही ४ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो प्रदेशका कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको बताउनुभएको छ ।संघीय सरकारले कोरोना परीक्षण र उपचारको शुल्क बिरामीले नै तिर्नुपर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलले भने प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा लक्षण भएका बिरामीको लागि निःशुल्क उपचारको व्यवस्था भएको फेसबुकमार्फत जानकारी दिनुभएको छ ।
परीक्षण उपचारको लागि पनि शुल्क लिने संघीय सरकारको निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।यता रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा नगरपालिकाले नैं लिने निर्णय गरेको छ । कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापन नगरपालिका आफैंले गर्ने निर्णय गरेको हो । यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा नेपाली सेनाले गर्दै आएको थियो ।
शव व्यवस्थापन जिम्मेवारीबाट संघीय सरकार पछि हटेपछि तिलोत्तमा नगरपालिकाले त्यसको जिम्मेवारी लिएको हो । बैठकले शव व्यवस्थापनको आवश्यक तयारी गर्न स्वास्थ्य शाखालाई जिम्मेवारी दिएको छ । तिलोत्तमामा मंगलबारसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्म तिलोत्तमाका ७२६ जनालाई कोरोना संक्रमण भएकोमा ३९३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ३२५ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया