जीवनशैली

सिंँगारियो मदन भण्डारीको जन्मघर



ताप्लेजुङ, ५ कात्तिक । बडादशैं २०७७ का संँघारमा जननेता मदन भण्डारी जन्मनुभएको ताप्लेजुङको ढुङ्गेसांँघुस्थित घरलाई अनेरास्ववियुका नेता कार्यकर्ता पुगेर लिपपोत गर्नुभएको छ । अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिका सदस्य हेमराज निरौलाका अनुसार खरले छाएको सो दुईतले घरभित्र अहिले अलैँची थुपारिएको छ, चाँडै मर्मतसम्भार नगरे छाना मक्किएर झर्ने खतरा छ ।  निरौला कुनै बेला पार्टीका सभा, गोष्ठी हुँदा सो घर नेताकार्यकर्ता भरिएर खचाखच हुने गरेको स्मरण गराउनुहुन्छ ।  अहिले त्यस घरलाई नियमित रूपले हेरचाह गर्ने कोही नदेखिए पनि नेकपा निकटका विद्यार्थी तथा युवा पुगेर यसरी नै मर्मतसम्भार गर्ने गर्छन् । 

बडादशैँ नजिकिएसँगै गाउँका घर चिटिक्क सिँगारिदा आइतबार भण्डारीका घरमा समेत लिपपोत भएको छ । अनेरास्ववियुका केही युवाले आइतबार कमेरो माटाले लिपपोत र सरसफाइ गरेका हुन् । निरौलाले बेलायतमा रहेका अर्जुन खिम्दिङको आर्थिक सहयोगमा लिपपोत गरिएकोे जानकारी दिनुभयो । लिपपोत र सरसफाइका लागि अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष रुपेन्द्र वनेमसहित आठ विद्यार्थी नेता कार्यकर्ता ढुङ्गेसांँघु पुग्नुभएको थियो ।  अनेरास्ववियु सम्बद्ध नेताहरूले नेपालको परिवर्तनकारी आन्दोलन र जननेता भण्डारीको जन्म र बाल्यकालसंँग जोडिएको ऐतिहासिक महत्वको सो घरलाई विशेष रुपले संरक्षण गर्नुपर्ने आवश्यक रहेकोे बताउनुभयो । 

घरकै अगाडि ढिकी रहेका ठाउँमा भण्डारीको जन्म भएको बताइन्छ । उक्त ढिकी अझै पनि देख्न पाइन्छ  । भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो । विसं २०१५ मा गाउँमै एउटा हिउँदे पाठशालाबाट नै भण्डारी औपचारिक शिक्षातर्फ प्रवेश गर्नुभएको थियो । पन्ध्र वर्षका उमेरसम्म गाउँघरमा नै भण्डारीको जीवन बितेको थियो । विसं २०२४ मा उहाँको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाइँ सरेपछि घरसहितको जग्गा स्थानीयवासीले किनेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समय घरसहित सम्पूर्ण जग्गाको केही भाग मदन भण्डारी स्मृति प्रतिष्ठानका नाममा छ । 

सो क्षेत्रलाई नमूना क्षेत्रका रुपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी प्रतिष्ठानले घरजग्गा लिएको थियो । पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा  भण्डारी जन्मघर संरक्षण तथा स्मृति उद्यान निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चालु आर्थिक वर्षमा रु ३० लाख विनियोजन भएको छ । विनियोजित सो बजेटबाट घरको वरिपरि पर्खालसहितको घेराबार गर्ने र नजीकैको ढुङ्गेधारालाई संरक्षण गर्ने तयारी भएको वडाध्यक्ष सुरेन्द्र लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि उपभोक्ता समितिसमेत बनिसकेको छ र दशैँलगत्तै काम शुरु हुने छ । पालिकाको सहयोगमा गत वर्ष नै स्मृति उद्यानसहितका संरचना बनाउन विस्तृत परियोजना प्रतिवेदन भने तयार भइसकेको छ । 

प्रदेश सरकारबाट प्राविधिक शिक्षालयका लागि संरचना तयार गर्न चालु आर्थिक वर्षमा रु एक  करोड विनियोजन भएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । त्यसका लागि आवश्यक पर्ने जग्गा खोजी भइरहेको र  अरु थप तयारी समेत भइरहेको उहाँको भनाइ छ । 

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६