कपिलवस्तु ७ कार्तिक ।कुनैदिन कपिलवस्तुको विकट क्षेत्र भनेर खासै चर्चामा नरहने बिजयनगरको विगत यतिबेला बदलिएकोछ । धेरै चर्चामा रहने पालिकाको रुपमा रुपन्तरण भएको छ । यसो हुनुमा त्यहाका जनप्रतिनिधीको काम प्रतिको लगाव र कर्मचारीको उत्साहपूर्ण सहयोग नै मुख्य बनेको स्थानीयहरुको बुझाईछ । बिजयनगरले कतिपय यस्ता काम गरेको छ जो अरु पालिकाका जनप्रतिनीधिले सोच्न सम्म भ्याएका छैनन् । बिजयनगरका यस्ता छलाङ पूर्ण काम के हुन्? त यहाँ संक्षिप्त चर्चा गरौं।
होल्डिङ सेन्टर स्थापना :
गत फागुनवाट नेपालमा कोरोनाको त्रास शुरु भयो । चैत्र १ पछि लामो लकडाउन शुरु भयो। सिमामा नेपालीहरु स्वदेश फर्कन नपाएर छटपठाए । कतिपय पालिकामा लुकिछिपी नेपाल प्रबेश गरेका नेपालीहरुलाई प्रहरीले पक्रेर पुन सिमामा लगेर प्रबेश निशेष गरयो । यहि मौकामा बिजयनगरले आफ्नै भूमीका नेपालीहरुलाई भित्राएर टेण्टवाट निर्मित होल्डिङ सेन्टरमा राख्ने काम गत बैशाखवाटै शुरु गरेको पालिकाका अध्यक्ष गोपाल बहादुर थापाको भनाइछ । यो काम संघिय सरकारले धेरैपछि सोच्यो । बिजयनगरले धेरै पहिलेवाट शुरु गरयो । होल्डिङ सेन्टरमा बस्नेको खानपान र स्वास्थ्य सेवा पालिकाले निशुल्क ब्यवस्था गरेर जनताको मन जित्ने पहिलो छलाङपूर्ण काम कोरोना कहर मै भयो ।
सुपुर्दगी ब्यवस्था :
होल्डिङ सेन्टरमा केहि दिन राखेपछि सम्वन्धित ब्यक्तिहरुलाई वडामा निर्मित क्वारेण्टाइनमा पुराउने काम पालिकाले गरेको थियो । यतिमात्र होइन बिजयनगरको वाटो हुदै नेपाल प्रबेश गरेका अर्घाखाँची ,प्यूठान ,रोल्पा सम्मका ब्यक्तिहरुलाई पालिकाले आफ्नै खर्चमा साधनको ब्यवस्था गरेर सुर्पुर्दगी गर्ने कामले जनप्रतिनिधीको जनप्रेम छिमेकी जिल्ला सम्ममा चर्चामा रहयो ।
पहिलो आइशोलुसन :
कपिलवस्तुमा कोभिड १९ संक्रमणको विगविगीका बीच कुनैपनि पालिकामा संक्रमित राख्न आइशोलेशन बन्न सकेको थिएन ।कतिपय स्थानमा आइशोलेशन वनाउन खोज्दा जनप्रतिरोध हुने गरेको थियो । यस्तो परिस्थिीवाट निरास भई जनप्रतिनिधीसंग छलफल गर्न प्रजिअ दिर्घनारायण पौडेलले राखेको छलफलमा पालिका अध्यक्ष गोपाल वहादुर थापाले आफूले एक हप्तामै संचालनमा ल्याउने गरी आइशोलेशन स्थापनाको प्रतिबद्धता जनाउनु भयो । सोही प्रतिबद्धता अनुसार स्थानीय आयूर्बेद अस्पताललाई आइशोलेशन वनाइयो । यो नै कपिलवस्तुको पहिलो ब्यवस्थित आइशोलेशन थियो ।
मन्त्रीले चर्चा गर्ने नमुना :
कोरोना नियन्त्रणमा विजयनगरले स्थापना गरेको होल्डिङ सेन्टर ,आइशोलेसन र सन्तुलित खाना खाजाको प्रबन्ध सहितका क्वारेण्टाइनहरु कति सम्म ब्यवस्थित थिए भने स्थानीय असल बयवस्थापनको चर्चा सुनेका प्रदेश ५का आन्तरीक मामिला मन्त्री कुल प्रसाद केसी नै हेर्न आएर साह्रै राम्रो काम भनेर खुलेर प्रसंसा गरेको प्रत्यक्षदर्शी संविधान सभा सदस्य बलराम अधिकारी स्मरण गर्नु हुन्छ । मन्त्री केसीले प्रदेश ५मा सबैभन्दा चुस्त दुरुस्त र ब्यवस्थीत काम विजयनगरमा भएको भन्दै प्रदेशले सम्मान गर्ने कार्यक्रम राखिएमा आफूले विजयनगरको नाम सिफारिस गर्ने वताउनु भएको थियो ।
आय ब्यय सार्वजनिक :
कोरोना ब्यवस्थापनमा जुटेको आय र भएको ब्ययको सबैभन्दा पहिला हिसाव किताव सार्वजनिक गर्ने पालिकामा पनि बिजय नगर नै बन्यो । जेठ सम्मको आय ब्ययको सार्वजनिक विवरण पालिकाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेर शुसासनको अभ्यास सुदृढ भएको सन्देश दियो । यसपछि कपिलवस्तुका अरु पालिकाले पनि क्रमश सार्वजनिक गरे ।
सुकुम्वासी ब्यवस्थापनमा चासो :
यतिमा मात्र कामकुरो सिमित रहेन अध्यक्ष थापाले केहि समय पहिले सुुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीलाई काठमाण्डौ पुगेर भेट गर्दै कपिलवस्तुको बिजयनगरमा जिल्लामा सबै भन्दा धेरै सुुकुम्वासी रहेकाले छिटो जिल्ला स्तरमा संरचना बनाएर काम गर्न अनुरोध गरेर फर्केको प्रेसपाटीलाई जानकारी दिनु भयो । उहाँले विजयनगर गाउँपालिकाका सुकुम्वासीहरुको आधारभूत समस्या बताउदै यहि समस्यालाई प्राथमिकतामा राखी पहल गर्न आयोगलाई आग्रह गरेको स्पष्ट पार्नु भयो ।अहिले सम्म अरु पालिकाले आयोग समक्ष पुगेर छिटो काम गर भनेर भनेको जानकारीमा छैन ।
प्रदेशलाई तताएर कालोपत्रे :
बिजयनगरले कोरोना कहरमा अरुपालिका काम गर्न अलमलाई रहेको मौकामा गरेको अर्काे छलाङपूर्ण काम प्रदेश सरकारलाई घचघचाउनु हो ।फलस्वरुप विजयनगर गाउँपालिकामा ६ किलो मिटर बाटो कालो पत्रेकोे यसै चालु आवमा अघि बढेको छ । गाउँपालिकाको वडा नं ६ मा पर्ने फरेनी चौकदेखि बद्दौर, छुटपाटी हुँदै वडा नं ५ को डालपुर र देवीपुरसम्म बाटो कालो पत्रे काम अघि बढेको हो । गाउँपालिका कै पहिलो लामो कालो पत्रे बाटोे हुन लागेको हो । लुम्विनी प्रदेश सरकारले २०७७ असार मसान्त तिर निकालेको सूचना अनुसार फलोअप गरेर काम अघि वढाएको पालिका अध्यक्ष गोपाल वहादुर थापाको भनाइछ । प्रदेश सरकारको बहुवर्षिय योजना अन्तर्गत १० करोडको लागतमा उक्त बाटो कालो पत्रे हुन लागेको हो ।
बिओपीकालागि दवाव र स्थापना :
पालिका कै पहलमा यहि बीचमा बिजयनगरमा शसस्त्र प्रहरीको सिमा सुरक्षा बल (विओपी) स्थापना भएको छ । प्रदेश राजधानी दाङसंग निकट रहेको यस पालिकामा बिओपी राख्ने पूर्व कुनै योजना नभएपनि पालिकाले निरन्तर गरेको पहलपछि हालै बिओपि स्थापना भएको उपप्रमुख लक्ष्मी चौधरीले प्रेसपाटीलाई जानकारी दिनु भयो ।
झोलुङ्गे पुलको उद्घाटन :
यस्तै विजयनगर गाउँपालिकामा झोलुङ्गे पुलको उद्घाटन केहि समय अगाडी भएको छ । गाउँपालिकाको वडा नं १ र ५ मा पर्ने चिरई खोलामा पुलको निमार्ण गरिएको हो । गाउँपालिका अध्यक्ष थापाले एक कार्यक्रम बीच झोलुङ्गे पुलको उद्घाटन गर्दै स्थानीयले खोलामा बर्षौ देखि झेल्दै आएको बाटोको समस्या समाधान भएको बताउनुभयो ।
नेवलागंज— बिशवामा पुल :
यता विजयनगर गाउँपालिकाकोे विशवा खोलामा पुल बन्न थालेको छ । गाउँपालिकाको वडा नं १ मा पर्ने नेवलागञ्ज विशवा खोलामा पुल बन्न लागेको हो । गाउँपालिकाको सुदुर पश्चिममा भौगोलिक बनोटले अति विकट क्षेत्रमा पर्ने विशवा खोलामा पुल निमार्ण हुन लागेको गाउँपालिका अध्यक्ष थापाले बताउनु भयो ।
एम्बुलेन्स सेवा शुभारम्भ :
यसैगरी गाउँपालिकाले यहि पछिल्लो बुधवारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पिपरी समयमाई मन्दिरमा पुजाआजा गरी एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएकोछ ।कोरोनाका कारण अन्य एम्वुलेन्सको सेवा सहज नभएपछि पालिकाले आफ्नै सेवा शुरु गरेको अध्यक्ष थापाको भनाइछ । गाउँपालिकाले यहाँका नागरिकहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखी अगाडी बढिरहेकोे थापाले बताउनुभयो ।
कतिपय अवस्थामा विरामी हुँदा यातायातको साधन नपाउँदा अकालमै मृत्यु हुने समेत ग¥यो तर यी बाध्यता अबदेखि हट्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को खरिद गर्ने कार्यक्रम रहे तापनि कोरोना भाइरस ९कोभिड–१९०को कारणले गर्दा यस वर्षको सुरुमै एम्बुलेन्स ल्याएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो । एम्बुलेन्स सञ्चालन कार्यविधि अनुसार व्यवस्थापन गर्ने भट्टराईले बताउनुभयो । एम्बुलेन्स सञ्चालनमा भएपछि पालिकावासी खुसी भएका छन् ।एम्बुलेन्स संचालन अरु पालिकाले पनि गरि सकेका छन् यो कुनै नयाँ काम भने होइन ।
आइटी ल्याव स्थापना :
यस्तै विजयनगर गाउँपालिकामा आईसिटी ल्याबको उद्घाटन गरिएको छ । गाउँपालिका वडा नं ७ गणेशपुरमा रहेको लौटनराम द्रोपदी माध्यामिक विद्यालयमा यहि बुधवार नै गाउँपालिका अध्यक्ष र थापाले आईसिटी ल्याबको उद्घाटन गर्नुभएको हो । गुणस्तरयुक्त शिक्षा प्रदान गर्न आवश्यक निगरानीका लागि सिसिटीभी क्यामेराको समेत जडान गरिएको छ । विजयनगर शिक्षा, स्वास्थ्य, विकासका पुर्वाधारहरु लगायतको चौतर्फी विकासमा पछाडी परेको थियो, पहिले र अहिलेको तुलनामा विकासोन्मुख क्षेत्रतिर तीव्र गतिमा लम्किरहेको छ अध्यक्ष थापाले भन्नुभयो ।
बिजयनगरले कोरोना कहरका बीच गरेका केहि कामको प्रकृति हेर्दा छालाङपूर्ण भन्न मिल्ने बताउनु हुन्छ वारएसोसियसन कपिलवस्तुका पूर्व अध्यक्ष एवम अधिबक्ता हुमनाथ पाण्डे । उहा भन्नु हुन्छ अध्यक्ष थापाको उच्च सकृयताले सकारात्मक नतिजा क्रमबद्ध रुपमा हासिल भएको हुन सक्छ । त्यहा कर्मचारीको नेतृत्व गर्ने प्रशासकिय अधिकृत समेत जनप्रतिनिधीसंग हातेमाले गर्न सक्ने क्षमताको भएर नै यस्ता काम गतिशिल रुपमा हुनसकेको आकलन अधिबक्ता पाण्डेको रहेकोछ । –बुद्धदर्पण दैनिकवाट
प्रतिक्रिया