काठमाण्डौ १५ असोज । प्रहरीको नक्कली लोक सेवा परीक्षा सञ्चालन गर्ने बाराका अजयकुमार रायलाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका– ७ चौधरी टोलका २९ वर्षीय राय प्रहरी निरीक्षकको पोसाकमै पक्राउ परेका हुन् ।उनको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र दुई थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र एक थान बरामद गरेको प्रहरीले जनाएको छ । बुधबार वीरगञ्ज–१६ मा रहेको देव पार्टी प्यालेसमा नक्कली लोक सेवाको परीक्षा सञ्चालन भइरहेका बेला उनलाई प्रहरीले पक्रेको हो ।
परीक्षा सञ्चालन गरेर यादवले विभिन्न व्यक्तिबाट तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । उनीसहित प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का हिरालाल महतो, वसन्त चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका–१६ का रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका–५ का शिवनारायण चौरसिया र वीरगञ्ज–२७ रानीघाटका रामजी चौरसियालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार नक्कली लोक सेवाको परीक्षा सञ्चालन गरेर ठगी गर्ने योजना अजयकुमार रायले नै बनाए थिए । नौ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्स्पेक्टर भन्दै यादवले ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको छ । यसअघि पनि राय सरकारी छाप किर्ते अभियोगमा जेल परिसकेका व्यक्ति हुन् ।
प्रतिक्रिया