ब्रेकिंग न्युज

१२ वर्षीया विश्वकर्माको बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको स्वीकार



कैलाली १६ असोज । बझाङ मस्टा गाउँपालिका–२ कि १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको पक्राउ परेका राजेन्द्र बोहराले स्वीकार गरेको प्रहरीले जनाएको छ ।बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट निस्किएकी उनी घर फर्किनन् । राति करिब ९ः१५ बजे आफन्तले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।घटना भएको राति नै प्रहरीले मस्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।

       उनीमाथि जबरजस्ती करणी र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । अनुसन्धान र छानबिनको क्रममा उनले बलात्कार र हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।‘बोहराले घटना आफूले घटाएको स्वीकार गरिसकेका छन्,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले  भने ‘उनले ढुंगाले हानेर र त्रिशूल रोपेर बालिकाको हत्या गरेको बताएका छन् ।’ घटनास्थलबाट प्रहरीले त्रिशूलसमेत बरामद गरेको छ ।बुधबार साँझ करिब ४ बजेदेखि ५ बजेको बिचमा बालिकामाथि बलात्कार भएको  र घटना बाहिर आउने डरले हत्या गरिएको प्रहरीले जनाएको छ ।

    हत्याको स्वीकार गरिसकेका बोहरा यसअघि पनि बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साउन २९ गते सोही ठाउँकी १३ वर्षीया बालिकालाई समेत बोहराले बलात्कार गरेका थिए । तर, ३१ गते आफन्तहरूसँग बसेर मिलापत्र गरिएको थियो ।बोहराले गल्ती भएको भन्दै ५०० रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोगेपछि मिलापत्र गरेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिए । ‘त्यो बेला उनीमाथि कारबाही भएको भए यस्तो जघन्य अपराध हुने थिएन । पहिलो पटक घटना मिलाएपछि अपराधीको मनोबल बढेको हो,’ उनले भने ।

     सम्झनाको बलात्कारपछि हत्या भएको चार दिनपछि २९ साउनको घटनालाई लिएर बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दर्ता गराएको जिल्ला जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काले बताए । बलात्कारको घटना मिलाउने व्यक्तिहरुलाई समेत कारबाही हुने उनले बताए । ‘उहाँहरूलाई मतियार मानेर कारबाही हुन्छ,’ उनले भने, ‘अहिलेसम्म पक्राउ गरेका छैनौँ । तर, तत्काल पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढ्छ ।’

     पहिलो घटना मिलाउन संलग्न रहेका ६ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।मस्टा गाउँपालिका–२ का वडाध्यक्ष शेरबहादुर खड्काले पनि बलात्कार र हत्या आरोपमा पक्राउ परेका बोहरा विगतदेखि नै आपराधिक क्रियाकलापमा रहेको बताए ।‘उनी चोरीका बिभिन्न घटनामा समेत संलग्न रहेको पाइएको छ । तर, कसैले उजुरी गरेका छैनन्,’ उनले भने, ‘सानो घटना भन्दै लुकाउँदै गर्दा बिभत्स घटना भयो ।’

आठ दिनपछि दाहसंस्कार

       बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिकको आठ दिनपछि दाहसंस्कार गरिएको छ ।२० वर्षीय राजेन्द्र बोहरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव आफन्तले बुझेका हुन् । उनीहरुले दोषिमाथि कडा कारबाहीको माग गरेका छन् ।

अनलाइनखबर

प्रकाशित : १६ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६