काठमाडौं २२ असोज । रुपन्देहीमा एक जना वडा सदस्यको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो ।उनको उपचार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा हुँदै आएको थियो । उपचारको क्रममा बुधबार राति तुलाचनको मृत्यु भएको वडा नं. ५ का अध्यक्ष चेत बहादुर क्षेत्रीले जानकारी दिए ।४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।उनमा यही असोज १३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । १४ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो ।
वडा अध्यक्ष चेत बहादुर क्षेत्रीका अनुसार उनलाई अस्पताल पुर्याउँदा शरीरमा अक्सिजनको मात्रा एकदमै कम थियो । त्यसपछि रेमिडिसिभर औषधि दिएर भोलिपल्ट भेन्टिलेटरमा राखिएको थियो ।‘त्यसपछि उहाँको स्वास्थ्यमा सुधार देखियो । शुक्रबार अक्सिजनको मात्रा ९४ आयो,’ वडा अध्यक्ष क्षेत्रीले भने, ‘शनिबार उहाँले चिया-पाउरोटी पनि खानुभयो तर त्यही दिन बिहान ११ बजे गाह्रो भएछ । डाक्टरहरुले कोसिस गर्दागर्दै गएराति प्राण गयो ।’वडा सदस्य तुलाचनको निधनको शोकमा आज वडा कार्यालयको सेवा बन्द गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
प्रतिक्रिया