बुटवल १७ कार्तिक । बुटवलमा एक सडक सधै अधुरो रहदा रहदै १० करोड बजेट धुलो मै उडेकोछ । सीमा क्षेत्रको सडक अन्तर्राष्ट्रिय मापदण्डको बनाउने र व्यापार विस्तार गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको बेलहिया–बुटवल व्यापारिक मार्ग कहिले सकिने टुंगो छैन । निर्माण नसकिँदै सडक भने भत्कन र भासिन थालेको छ । सडक मर्मतमा मात्रै अहिलेसम्म १० करोड ३५ लाख ८८ हजार रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ ।बेलहिया बुटवल व्यापारिक मार्गमा निर्माणाधीन अवस्थामै भत्किएको सडक ।
चालु आर्थिक वर्षमा समेत मर्मतमा २ करोड रुपैयाँ छुट्याइएको छ, जुन ठेक्का प्रक्रियामा छ । निर्माणको सुरुवातदेखि नै सडकमा समस्या देखिएकाले यति धेरै रकम मर्मतमा खर्चनु परेको आयोजनाका इन्जिनियर सुवेक्षा सारुले बताइन् । बेलहियादेखि अञ्चलपुरसम्मको धेरै सडक भत्केको छ । केही स्थानमा सडक भासिएको छ । शर्मा दिवा द कञ्चनजंघा जेभीले निर्माण गरेको हो । बीचबीचमा भासिने र भत्कने गरेपछि अहिले आयोजना नयाँ निर्माण होइन, मर्मतमा जुटेको छ ।
नियमतः निर्माणाधीन सडक उक्त कम्पनीले नै मर्मतसम्भार गर्नुपर्छ । यस सडकमा भने आयोजनाले छुट्टै मर्मतसम्भार गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७४/७५ मा ३७ लाख ९४ हजार, २०७५/७६ मा ६७ लाख ५५ हजार, २०७६/७७ मा ९ करोड ३० लाख ३९ हजार रुपैयाँ बराबरको मर्मत कार्यका लागि ठेक्का भएको छ । ‘बलियो बनाउन सडक १० सेन्टिमिटर उचाइको बनाइएको छ,’ सारुले भनिन्, ‘तर पनि टिकेन । निर्माण नसकिँदै भत्किएको छ, जसले मर्मत खर्च बढाएको छ ।’ बढी भारवहन, तीव्र गति र पानीको सतह नजिक भएका कारण निर्माणाधीन सडक भासिने र भत्किने गरेको उनले बताइन् ।
आयोजनाका अनुसार बेलहिया–बुटवल व्यापारिक मार्ग अस्फाल्ट कंक्रिट प्रविधिबाट बनेको सडक हो । यसको आयु ८ वर्ष रहन्छ । सडकको क्षमता १० दशमलव २ टन प्रतिएक्सल हो । तर, प्रतिएक्सल दोब्बर भार बोकेर सवारीसाधन गुडिरहेका छन् । एक्सलको भार वहन क्षमताअनुसार १२ चक्के सवारीसाधनले कुल ३१ टन सामान बोक्ने अनुमति पाउँछन् । तर, तीन–चार गुना बढी भार बोकेका सवारीसाधन स्वदेश प्रवेश गरेका छन् । यस्तोमा जरिवाना काटेर सुरक्षाकर्मीले प्रवेश गराइरहेका हुन्छन् । यसले निर्माणाधीन सडक भत्किने र भासिने गरेको आयोजनाको तर्क छ ।
भारतीय मालवाहक साधन जुन बाटो आउँछन्, त्यही दिशाबाट सडक भत्किएको र भासिएको छ,’ आयोजना प्रमुख जयलाल मरासिनीले भने, ‘यसैले तीव्र गतिका कारण सडक भत्किएको अनुमान गरेका छौं ।’ सडकको संरचना र निर्माणमै समस्या हो कि भन्नेबारे अध्ययन भइरहेको आयोजना प्रमुख मरासिनीले बताए । ‘सम्पन्न नहुँदै भत्केको सडक टालो हालेर बस्ने कि अरू सडक बनाउने समस्या भयो,’ उनले भने, ‘त्यसैले सडक विभागलाई सडकबारे विशेषज्ञ टोलीबाट अध्ययन गर्न आग्रह गरेका छौं ।’ विभागको समन्वयमा छिट्टै अध्ययन गरेर व्यापारिक मार्ग टिकाउको दीर्घकालीन समस्या समाधान गर्ने उनले जानकारी दिए ।
बेलहिया–बुटवलकै विधिमा भारतको सुनौली–नौतनवा–गोरखपुर सडक निर्माण भएको छ । उही क्षमताका गाडी गुड्दा उताका सडक भने भत्केका छैनन् । उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष खिमबहादुर हमालले अन्तर्राष्ट्रिय मापदण्डको सडक निर्माण नसकिँदै भत्कनु लाजमर्दो भएको बताए । ‘यसको अध्ययन हुनुपर्छ,’ उनले भने ।साढे २७ किलोमिटर लम्बाइको सडकमा अहिलेसम्म ५ अर्ब ५० करोड रकम सकिएको छ ।
पाँच वर्षमा सक्ने लक्ष्यसहित सुरु सडकको ७ वर्ष सकिँदासम्म सवा ४ किलोमिटर सडक बन्नै बाँकी छ भने ७ किलोमिटर सडकको सर्भिसलेन कहिले सकिने हो, टुंगो छैन । आयोजना प्रमुख मरासिनीले भने सडक खाली गर्नेदेखि निर्माण प्रक्रियाका झन्झट बिस्तारै सल्टाउन लागेकाले अबको काम भरपर्दो हुने दाबी गरे ।इकान्तिपुरवाट
प्रतिक्रिया