काठमाण्डौ १९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पार्नुभएको छ । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताउनुभएको हो ।पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने स्पष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो ‘तपाईँहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ ?
राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्याएर भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि नागरिकको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताउनुभयो । कुनै पनि जाल, झेल तथा तिकडमबाट नभइ व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने द्विविधामा नपर्नसमेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म यस ठाउँमा आएको मेरा रहरले होइन, नागरिकको आवश्यकता र समर्थनले हो । म जाल, झेल र तिकडमबाट यहाँ पुगेको होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ कि, बदलिन्छ कि भनेर धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिस गरे । भित्र, बाहिर अनेक थरीका कोसिसहरु आए ।
जे मा पनि आलोचना गर्ने, जे मा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृत्तिहरू छन्, त्यसबाट प्रभावित नहोऔँ ।’प्रधानमन्त्री ओलीले एक थरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकथरी अस्थिरताको खेती गरिरहने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत छ केहीको । एडिक्ट भएका छन् कोही ।’
प्रतिक्रिया