काठमाडौं २५ कात्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन समारोहमा मन्त्री गुरुङले महासंघलाई सो आग्रह गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन आवश्यक रहेको बताए । पत्रकार बन्नको लागि निश्चित योग्यता चाहिने बताउँदै उनले भने, ‘यो पनि जानकारी गराउन चाहान्छु कि सञ्चार कानुनमा म अब मर्यादित पत्रकारिताको बुँदा पनि थप्छु ।’मन्त्री गुरुङले सञ्चार गृह र पत्रकार के उद्देश्यले मिडिया क्षेत्रमा प्रवेश गरेको र अहिले यो क्षेत्रमा के भइरहेको छ भन्ने विषयमा गम्भीर रुपमा समीक्षा गर्ने बेला आएको समेत बताए । उनले पछिल्लो समयमा मानिसलाई एकदमै निराश बनाउने खालका नकारात्मक समाचार आउन थालेको र त्यसले मिडियाको विश्वसनीयतामा नै प्रश्न उठेको बताए । उनले भने, ‘कुनै मिडियामा कुनै समाचार आयो भने त्यो मिडिया त फलानो नेताको नजिक हो भन्ने अवस्था सिर्जना भएको छ ।’
उनले अगाडि भने, ‘जिम्मेवार पत्रकारिताको मापदण्ड र न्यूनतम व्यवसायिक मर्यादा आवश्यक छ र पत्रकारिताका नकारात्मक सूचीहरुलाई सकारात्मक सूचिमा परिवर्तन गर्न आवश्यक छ ।’नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले विश्वमा आमसञ्चार माध्यमहरुको संख्या तीव्र रुपमा वृद्धि भएको र यसले पाठकलाई फरक दृष्टिकोणसहित पढ्ने अवसर प्राप्त भएको तर ब्रेकिङ गर्ने दबाबले समाचारको तथ्यलाई असर गर्ने गरेको बताए । गलत र भ्रामक समाचारले जनतालाई मिसलिड गर्ने बताउँदै उनले तथ्यगत समाचार सम्प्रेषण गर्दै पत्रकारले जिम्मेवार पत्रकारिताको अभ्यास गर्नुपर्ने बताए ।
राजदूत बेरीले नेपाली पत्रकारहरुले जिम्मेवार पत्रिकाको मूल्य बुझेको र प्रश्न गर्ने मामिलामा उनीहरुमा कुनै हिच्किचाहट नरहेको आफूले पाएको अनुभव सुनाए ।कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता सामाजिक उत्तरदायित्व बहन गर्ने पेशा भएको बताउँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्ने पत्रकारको दायित्व भएको बताए ।
उनले राज्यका निकायका काम र गतिविधिको निगरानी गर्नुपर्ने बताए । उनले पत्रकारिता क्षेत्रका गल्ती र कमजोरी समीक्षाका लागि पत्रकार महासंघले सार्वजनिक बहसको थालनी गरेको जानकारी उनले दिए । अध्यक्ष आचार्यले आगामी दिनमा यस्ता तालिम र कार्यक्रमहरु आवश्यक रहेको बताए ।मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले देशभरका मिडियाहरुमा प्रकाशित भ्रामक समाचारहरुको सम्बन्धमा अध्ययन गरेको बताए । उनले विभिन्न जिल्लाका पत्रकारहरुलाई दुई चरणमा तालिम प्रदान गरेको जानकारी पनि गराए ।
प्रतिक्रिया