अन्तर्राष्ट्रिय

वाइडेनको जीत किन भयो बराक ओवामाको तेश्रो कार्यकाल ?



कपिलवस्तु २६ कार्तिक । नीति र व्यक्तित्वका हिसाबले बाराक ओबामाले तेस्रो कार्यकाल जितेका छन् । बाराक ओबामासँगको आत्मीय सम्बन्धकै कारण जो बाइडेन राष्ट्रपति बनेका हुन् । बाइडेनका अधिकांश नीति ओेबामाकै जस्तो मध्यमार्गी छन् । अमेरिकी जनताले ओबामाकालको भद्रता र स्थिरता बिर्सिन नसकेर उनका उपराष्ट्रपतिलाई जिताए । बाइडेनलाई ट्रम्पको कार्यकालमा भत्किएका कुरालाई पुनर्निर्माण गर्न निर्वाचित गराएको जस्तो देखिन्छ । त्यसैले बाइडेन परिवर्तनकारी शक्तिभन्दा पनि पछाडि फर्किने शक्ति हुन् । त्यसैले, उनको मुख्य चासो यथास्थिति भत्काउनेमा हुनेछैन ।

    ओबामाको जितमा जस्तै बाइडेनलाई जिताउन वामपन्थीभन्दा अन्य शक्तिको प्रमुख हात रह्यो । बाइडेनले अघिल्लो महिना मायामीको एक टिभी च्यालनसँग बोल्ने क्रममा यो कुरा आफैँले भने, ‘म आफैँ समाजवादीहरूविरुद्ध लडेको मानिस हो । म मध्यमार्गी मानिस हुँ ।’ तर, यसपटक प्रगतिशीलहरू ट्रम्पको समयमा जस्तो चुप रहनेछैनन् । ओबामाले प्रत्येकजसो मोर्चामा राजनीतिको दक्षिणपन्थी हिस्साबाट ठूलो प्रतिरोध सामना गरे । दक्षिणपन्थीहरूविरुद्धको लडाइँमा ओबामा थप कमजोर होलान् भन्ने सोचेर प्रगतिशीलहरूले आफूलाई संयमित राखे ।

    तर अमेरिकी प्रगतिशीलहरू अहिले आक्रोशित र दुःखी छन् । उनीहरू विगतको गल्ती दोहोर्‍याउने पक्षमा छैनन् । मेरा सहकर्मी थोमस एड्सलले डेमोक्रेटिक पार्टी खासमा तीन अलग पार्टी भएको बताएका थिए, जुन विश्लेषण एकदम सही छ । ती तीन समूहमा सबैभन्दा प्रगतिशीलहरू वामपन्थी, मझधारका ‘केही उदारवादी’ र बहुसंख्यक गैरश्वेत समुदाय छन् । अन्तिम समूह राजनीतिक रूपमा दायाँ देखिन्छ । संख्यामा सानो भए पनि सबैभन्दा चर्को आवाजप्रगतिशीलहरूको छ तर उनीहरू पक्षधरको नेता हालसम्म ह्वाइट हाउस पुगेका छैनन् ।

    भविष्यमा बाइडेन र डेमोक्रेट्सलाई पार्टीको प्रगतिशील तप्काको साथको आवश्यकता हुन्छ । तर, यो तप्कालाई के पनि थाहा छ भने दक्षिणपन्थीहरूलाई तिनलाई संयमित हुनुपर्ने वर्गका रूपमा देखाइरहनेछन् । धेरै मझधारका डेमोक्रेट्सले सबैभन्दा प्रगतिशील तप्काको तर्क तथा नीतिगत महत्वाकांक्षाका कारण डेमोक्रेटिक पार्टीलाई क्षति पुगेको आरोप लगाउने गर्छन् ।अघिल्लो हप्ता ‘द इन्टरसेट’ले छापेको समाचारअनुसार डेमोक्रेट्स पार्टीका भित्रियाहरूले एक भिडियो सम्मेलनमा यही कुरा चर्कोसँग उठाए । त्यस भेटघाटमा एकपछि अर्को मध्यपन्थीले पार्टीभित्रका प्रगतिशील पक्षको आलोचना गरे । प्रगतिशीलहरूका कारण कैयौँ तल्लो सदनका सिट गुमेको र सिनेटको बहुमत पनि धरापमा परेको तिनले आरोप लगाए ।

    जो बाइडेनको जितले सामान्य अवस्थातर्फको फिर्तीलाई प्रतिनिधित्व गर्छ, तर उनलाई प्रगतिशीलहरूले अगाडि बढ्न दबाब दिइरहनेछन् ।उता वामपन्थी पक्षधरको नेताका रूपमा उदाएका सिनेटर बर्नी स्यान्डर्सले अघिल्लो महिना ‘द क्वाड’ भनेर चिनिने प्रगतिशील चार सांसदहरू एलेक्जेन्ड्रिया ओकासियो कोर्टेज, इल्हान ओमर, आयना प्रेस्ली र रसिदा तलइबलाई प्रगतिशीलहरूको पहिलो प्राथमिकता ट्रम्पलाई हराएर बाइडेनलाई जिताउनु रहेको बताएका थिए । बाइडेनलाई जिताएपछि उनलाई फ्यांकलिन डी रुजबेल्टयताकै सबैभन्दा प्रगतिशील राष्ट्रपति बनाउन दबाब दिनु दोस्रो प्राथमिकता रहेको स्यान्डर्सले बताएका थिए ।

    त्यस अवसरमा ओकासियो–कोर्टेजले स्यान्डर्सलाई ‘डेमोक्रेटिक पार्टीभित्र प्रगतिशील आवाजलाई समान्यीकरण’ गरेकोमा धन्यवाद दिइन् । उनले अगाडि व्याख्या गर्ने हिसाबले भनिन्, ‘लामो समयसम्म हाम्रा मागलाई उचित मानिँदैनथ्यो । पहिलेदेखि नै यी विचारलाई वर्जित मानिन्थ्यो । विगतमा प्रगतिशील विचार राख्नेहरूको आलोचना गर्ने र निसाना बनाउने गरिन्थ्यो ।’ प्रगतिशील मागहरू हराएर वा दबिएर जानेवाला छैनन् । न त प्रगतिशील माग बेवास्ता गरिनुपर्ने खालको छ ।चार वर्षसम्म रिपब्लिकनले अमेरिकी लोकतन्त्रमाथि अन्धाधुन्ध आक्रमण गरे र अदालतमा पकड बनाएर पुस्तौँसम्म आफूलाई बलियो बनाउने प्रयास गरे । ट्रम्पको हारपछि यसमा केही रोक लागेको छ ।

    डेमोक्रेट्सहरू पुनः एकता र सामान्य अवस्थामा फिर्तीको कुरा गर्न थालेका छन् । रिपब्लिकन आफूलाई युद्ध अवस्थामा रहेको ठान्न थालेका छन् । युद्धकै तयारी गर्ने हो भने डेमोक्रेट्सले बृहत्तर रणनीति सोच्नुपर्छ । डेमोक्रेट्सको रणनीति बदलिँदो जनसंख्या समूहमा धेरै निर्भर रहेको देखिन्छ । गैरश्वेत समुदायको जनसंख्याको हिस्सा बढेको र सो समूह डेमोक्रेट्स पक्षधर हुने तिनको आकलन रहने गरेको छ । यस्तो रणनीतिले पछि समस्या निम्त्याउन सक्छ ।

    गैरश्वेत समुदायले डेमोक्रेट्सलाई दुईमध्ये एक मत दिएको सही हो । तर यो वर्ष ट्रम्पले सन् १९६० यता रिपब्लिकन उमेदवारले पाएकोमध्ये सबैभन्दा बढी गैरश्वेतहरूको मत पाए । तिनले ट्रम्पलाई भोट हाल्नुका धेरै कारण छन् । कति समाजवादी तानाशाहबाट उम्केर अमेरिका आइपुगेका ल्याटिन अमेरिकीहरू बाइडेनमाथि लागेको समाजवादी आरोपबाट तर्सिए ।कति बाइडेनका एजेन्डाले पनि अफ्रिकी अमेरिकीहरूको मुद्दालाई नसमेटेकाले जसलाई मत दिए पनि हुने मनस्थितिमा पुगे । कति गलत सूचनाको सिकार भए । वा आम मतदातालाई जस्तै कतिलाई रिपब्लिकन पार्टी राम्रो लाग्यो । राजनीतिमा कुनै कुरा पनि स्थिर रहँदैन वा कुनै कुरामा पनि ढुक्क हुनुहँुदैन । डोनाल्ड ट्रम्पले इतिहासका कुनै पनि रिपब्लिकन उमेदवारले भन्दा बढी मत पाएका छन् ।

    उनी भावी दिनमा पनि कन्जर्भेटिभ मतदातामाझ शक्तिशाली रहनेछन् । रिपब्लिकन पार्टीको असली नेतृत्व अहिले पनि उनै हुन् । उनले फक्स न्युजलाई प्रतिस्पर्धा दिन सक्ने वा त्योभन्दा पनि दक्षिणपन्थी विचार बोक्ने आफ्नै टेलिभिजन च्यानल खोल्न सक्ने अड्कलबाजी लगाइँदै छ । ट्रम्पका लागि टेलिभिजन व्यवसाय मन पर्ने क्षेत्र पनि हो । यदि उनले टेलिभिजन सञ्चालन गरे भने त्यो आगामी चार वर्ष बाइडेन प्रशासनमाथि प्रहार गर्ने औजार हुनेछ । टेलिभिजनमार्फत उनले कंग्रेसमा रिपब्लिकनलाई प्रभावित बनाउन सक्छन् । अझ उनी सन् २०२४ मा पुनः राष्ट्रपतिमा उठ्न पनि सक्छन् । लेखक न्युयोर्क टाइम्सका स्तम्भकार हुन् नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६