ललितपुर ४ कार्तिक । आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदैछ ।विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । हरेक १० मध्ये एक जनाले खुला ठाउँमा दिसा पिसाब गर्ने गरेका छन् ।सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा एक लाख १५ हजार बालबालिकाको ज्यान जाने गरेको छ ।घर र काम गर्ने ठाउँमा शौचालय नहुँदा व्यक्तिको स्वास्थ्य बिग्रने, काममा अनुपस्थित हुने र ध्यान केन्द्रीत गर्न नसक्ने भएकाले समग्र उत्पादकत्वमा नै असर पुग्ने भन्दै संयुक्त राष्ट्रसंघले सुरक्षित शौचालयको प्रयोगमा जोड दिएको छ ।
नेपाल खुला दिसामुक्त घोषणा भइसकेको छ । तर शौचालयको प्रभावकारी प्रयोग भने हुन सकेको छैन । बनाइएका कतिपय शौचालय पनि अव्यवस्थित र प्रयोगविहिन छन् । दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम हुँदैछन् ।ललितपुरको मंगलबजार बनेको स्मार्ट सार्वजनिक शौचालयको आज मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्ने कार्यक्रम छ । यो सार्वजनिक शौचालय अपाङ्गता भएका, वृद्धवृद्धा र महिलामैत्री पनि छ । महिलाहरुको महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याड पनि मेसिनबाट आफैँ निकाल्न सकिने एरोसानकी सृष्टी महर्जनले बताउनुभयो ।
प्रतिक्रिया