गुल्मी ९ मंसिर । गुल्मीका गाउँगाउँमा राष्ट्रिय परिचय पत्रको अभियान सुरु भएको छ । जिल्लामा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागद्धारा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम थालेको छ । कोभिडको कारण रोकिएको विवरण संकलनको काम अहिले गुल्मी दरवार र धुर्कोट गाउँपालिका सवै वडामा सुरु भएको छ ।
राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि कम्प्युटर अपरेटर र रुजु गर्ने अधिकारीलाई विवरण संकलन सम्बन्धी तालिम दिएर वडाहरुमा खटाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनु भयो । उहाले गत चैतबाटै विवरण संकलनको काम गर्ने योजना बनाए पनि कोभिडको कारण रोकिएको बताउदै अहिले सौहार्दपूर्ण वातावरणमा विवरण संकलनको काम भएको वताउनु भयो । गुल्मी दरवार गाउँपालिकामा कार्तिक २३ र धुर्कोट गाउँपालिकामा कार्तिक २५ गतेबाट विवरण संकलन अभियान सुरु भएको छ ।
दुवै गाउँपालिकामा ५८ जना दर्ता अपरेटर र ३४ जना रुजु अधिकारीले विवरण संकलनको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धव पन्थीले जानकारी दिनु भयो । अहिलेसम्म करिव १५ हजार नागरिकले आफ्नो विवरण संकलन गरेका छन् । जिल्लाभर मतदाता संख्याको आधारमा एक लाख ९६ हजार नागरिककोे व्यक्तिगत विवरण संकलन गर्ने अपेक्षा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको रहेको पन्थीले औल्याउनु भयो । राष्ट्रिय परिचय पत्र भनेको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहु–उपयोगी प्रमाणपत्र हो ।
गुल्मीमा ०७६ साउनबाट यो कार्यक्रम लागु भएको हो । जिल्ला प्रशासन कार्यालयमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले आफ्नो विवरण संकलन गरेर राष्ट्रिय परिचय पत्र विवरण संकलनको अभियान शुभारम्भ गर्नु भएको थियो ।त्यसपछि जिल्ला प्रशासन कार्यालयमा ०७६ साउनदेखिनै स्थायी स्टेशन स्थापना गरेर विवरण संकलनको काम भइरहेको छ । अहिले स्थानीय तहसंगको सहयोग र समन्वयमा गाउँ–गाउँमा पनि विवरण विवरण संकलनको काम भइरहेको छ । कोभिडले गाउँमा नागरिकको बाक्लो उपस्थिति छ ।
स्थानीय तहको तर्फबाट सवै सहयोग र समन्वय भइरहेको गुल्मी दरवार गाउँपालिका प्रमुख अशोक कुमार थापाले जानकारी दिनु भयो । उहाले सुरुमा केहि प्राविधिक समस्या देखिएकाले तोकिएको समयमा सवैको विवरण संकलन गर्न नसके थप समय माग गरिने बताउनु भयो ।
प्रतिक्रिया