रुपन्देही १२ मंसिर । लुम्विनी प्रदेशको प्रशासनिक राजधानी भालुवाङ देउखुरी घोषणासंगै बुटवललाई आर्थिक राजधानी घोषणा गरिएकोमा एक महत्वपूर्ण आधार निर्माण भएको छ । ब्यापारीक शहर बुटवल अव डिजिटलसीटीका रुपमा विकसित हुन थालेको छ । डिजिटल प्रविधिको यो नौलो व्यवस्थाको बिहीबार एक समारोहका बीच नेपाल सरकारका अर्थमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णुप्रसाद पौडेलले शुभारम्भ गर्नुभयो ।
नयाँ प्रविधिको शुभारम्भ गराउँदै अर्थमन्त्री पौडेलले डिजिटल सिटिको अभियानमा बुटवलले महत्वपूर्ण कदम चालेको बताउनुभयो । कर तिर्न लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरु अझै प्रोत्साहित हुने उहाँको भनाइ थियो । बुटवल उपमहानगरपालिकाले डिजिटल सिटिको बाटोमा महत्वपूर्ण कदम चालेको छ । राजश्व तिर्नका लागि लाइन लाग्नुपर्ने पद्धतिको अन्त्य गर्न उपमहानगरपालिकाले अनलाइनबाटै राजश्व तिर्न मिल्ने गराएको छ ।
उपमहानगरपालिका र यस अन्तर्गतका १९ वटै वडामार्फत् अनलाईन प्रणालीबाट राजश्व संकलन सुरु गरिएको हो । यो सेवासंगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ ।करदाताले नगरपालिकाले संकलन गर्दै आएको एकिकृत सम्पति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाई सेवा शुल्क, अचल सम्पत्ति मुल्यांकन शुल्क, नक्सा पास दस्तुर, ठेक्का पट्टा नविकरणलगायतका राजश्वलाई जुनसुकै ठाउँबाट पनि अनलाईनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको छ ।
त्यसक्रममा उहाँले डिजिटल प्रविधिको कारोबारलाई थप व्यवस्थित र विस्वशनिय बनाउँदै समुदायमा वित्तीय साक्षरताको पनि विकास गर्नुपर्ने बताउनुभयो । बुटवल आर्थिक केन्द्रसमेत रहेकाले आर्थिक गतिविधिलाई डिजिटल बनाउँदै सेवाग्राहीलाई सहज सेवा प्रवाह उपलव्ध गराउन उपमहानगरलाई आग्रह गर्नुभयो ।बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सेवाप्रवाहलाई अझ सहज, छरितो र विश्वसनिय बनाउँदै उपमहानगरलाई सेवाकेन्द्रका रुपमा विकास गरिएको बताउनुभयो । ‘हामीले कर बढाएका छैनौं केबल करको दायरालाई विस्तार मात्रै गरेका हौं’ उहाँले भन्नुभयो, ‘अनलाइन प्रणालीको विकास सोही अभियानमध्येको एक हो ।’
बुटवलमा काठमाण्डौ उपत्यकापछि पहिलोपटक इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबीपीएस) को शुभारम्भ भएको थियो । त्यससंगै यहाँका करिब ४० हजार घरलाई डिजिटल हाउस नम्बरिङमा जोडिएको छ भने जीपीएस र जीआइएस प्रविधिमा आधारित डिजिटल सिस्टम जडान गरिएको छ ।अहिले सुरु गरिएको ई–पेमेन्ट सिस्टमसंगै बुटवलले डिजिटल प्रविधिमा अर्को फड्को मारेको छ । जनप्रतिनिधि आएपछि बृद्धि हुदैं गएको राजश्व संकलन अनलाईन प्रणालीको प्रयोगसँगै अझै बढ्ने उपमहानगरपालिको विश्वास छ ।
उपनगरपालिकाको काम समय अनुकुल र सुचना प्रविधिसंग जोड्दैँ नगरबासीको सहजताका लागी अनलाईन प्रणाली मार्फत राजश्व संकलन सुरु गरिएको उपमहानगरपालिकाका प्रमुख सुवेदीले बताउनुभयो । उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जिआइएसका आधारमा घर नम्बरिङ पनि गरिसकेको छ । ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरमा नम्बर प्लेट टाँस्ने काम गरेको थियो ।
बुटवलमा सम्पत्ती कर, भूमि कर, व्यवसाय कर र बहाल कर तिर्ने सबैप्रकारका शिर्षकगत करदाताको संख्या करिब ८६ हजार रहेको छ । यी सबै प्रकारका राजश्व बुझाउनुपर्ने सेवाग्राहीहरु अनलाइन प्रणालीको प्रत्यक्ष लाभकर्ता हुनेछन् । यसखालको ई–पेमेन्ट व्यवस्था पालिकाहरुमै पहिलो रहेको उपमहानगरले दाबी गरेको छ । सम्पत्ती कर र भूमिकर बुझाउने करदाताको संख्या ५९ हजार पाँच सय ९३, व्यवसाय कर बुझाउनेको संख्या १८ हजार एक सय २६ र बहाल कर बुझाउनेको संख्या सात हजार नौ सय ५६ गरि करिब ८६ हजार शिर्षकगत करदाता रहेका छन् ।
प्रतिक्रिया