काठमाण्डौ १९ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले शनिबार सचिवालय बैठक बस्नैपर्ने बताउनुभएको छ । थापाथलीको इञ्जिनियरिङ क्याम्पसमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरूको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।नेकपामा दुई अध्यक्षबीच विवाद चर्किँदै गएका बेला दाहाल–नेपाल समूहका विद्याथीहरू भेला भएका हुन् । विद्यार्थीहरूको भेलालाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरूले सम्बोधन गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भाग लिन्नँ भन्न नपाउने उहाँले बताउनुभयो । बैठकमा भाग लिएर निकास दिनुपर्ने शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोलिको सचिवालयको बैठक हुनै पर्छ । अस्ति अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठकमा म आउँदिन, म बस्दिनँ, म छलफलमा भाग लिन्नँ भनेर भन्नुभयो । प्रचण्डको प्रतिवेदन पनि म मान्दिनँ भन्नुभयो । यो भन्न उहाँले पाउनु हुन्न । त्यसैले निकास बैठकबाटै हुनुपर्छ ।’
दुई वटा प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा गइ नसक्ने पनि नेत्री शाक्यले बताउनुभयो । शनिबारको सचिवालयमा बसेर संयमताका साथ बहस गर्न नेताहरूलाई आग्रह गरिएको पनि शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई वटा प्रतिवेदन आयो भन्दैमा पार्टी विग्रहमा जान्छ भन्ने मलाई पटक्कै लाग्दैन । त्यसैले पहिलो कुरा भोलि सचिवालयको बैठकमा बस्ने र उहाँले दुई वटै प्रतिवेदन अगाडि राखेर अत्यन्तै संयमतताका साथ, नैतिकताका साथ लागेका कुराहरू खुलस्त ढङ्गले एकअर्कामा आलोचना नै गरेर प्रस्तुत भएर छलफल गर्ने हो भने एकरदुई दिन जान्छ होला ।
त्यसपछि एउटा निष्कर्ष आउँछ । अब कसरी एक ढिक्का बनाएर पार्टीलाई लैजाने भन्ने कुरामा निष्कर्षमा पुग्नै पर्छ । त्योभन्दा अरू विकल्प खोज्नुभयो भने नोक्सान हुन्छ ।’अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेज मान्दिनँ भन्नुभएको हो भने अर्का अध्यक्ष ओलीले प्रतिउत्तर किन दिनुभयो रु भन्दै शाक्यले प्रश्न गर्नुभयो । लिखित प्रतिउत्तर दिने तर छलफलमा बस्दिनँ भन्न नमिल्ने शाक्यले बताउनुभयो । ‘दस्तावेज मान्दिनँ भनेर भनेको हो भने उहाँले प्रतिउत्तर किन दिनुपर्यो ।
प्रचण्डले पेस गरिसकेपछि जे–जे त्यहाँभित्र छ, त्यसको प्रतिउत्तर उहाँले दिइ सक्नुभयो । लिखित प्रतिउत्तर दिने अनि छलफलमा भाग नलिने भनेर भाग्न मिल्छ रु बैठक छोडेर जान मिल्छ रु उहाँले समस्याको समाधान कसरी दिन खोजिराख्नु भएको छ, कहाँ गएर खोजिराख्नु भएको छ र बाहिरबाट समस्याको समाधान हुँदैन ।’अध्यक्ष ओलीले नै पहल गरेर एकता भएको पार्टी भित्र देखिएका समस्याको समाधान गर्दै सबैलाई एक बनाएर लैजाने दायित्व पनि उहाँकै भएको बताउनुभयो । बैठकबाट भाग्ने विषय लोकतान्त्रिक चरित्र नभएको पनि शाक्यले बताउनुभयो ।
भेलालाई सम्बोधन गर्न पुग्नुभएकी अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि पत्रकारहरूसँग कुराकानी गर्दै शनिबारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गर्नुभयो । समस्याको समाधान गर्न बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न नसकिने भुसालले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले अस्तिको बैठकमा आउन्नँ भन्नुभएको हो ।
भोलिको बैठकमा आउनु हुन्नँ भन्ने लाग्दैन । आफैले ३८ पेजको प्रस्ताव पेस गर्नुभएको छ र उहाँसित सम्बन्धित भएर सचिवालयमा अरूले पनि प्रस्ताव राख्नुभएको छ । ती प्रस्तावहरूको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुन्न । उहाँ आउनुहुन्छ, आउनुपर्छ र बसेर छलफल गरेर समस्याको सामना गर्नुपर्छ । समस्याको सामना नगर्ने नेतृत्व हुन सक्दैन ।’
उहाँले जसले समस्याको छलफल गर्न सक्छ वा अन्तर्विरोधको हल गर्न सक्छ, त्यो मात्रै सही नेतृत्व हुने बताउनुभयो । उहाँले बैठकहरू निरन्तर अगाडि बढाउने बताउनुभयो ।भेलालाई दाहाल–नेपाल निकट स्थायी कमिटी सदस्यहरू अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्यहरू रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैह्रे लगायतले सम्बोधन गर्नुभयो । भेलामा पत्रकारहरूलाई प्रवेश गर्न दिइएको थिएन ।
प्रतिक्रिया