सूचना र प्रविधि

ब्रिटिस र सिंगापुर पुलिस फोर्सका लागि ७७० नेपाली युवा अन्तिम प्रतिष्पर्धामा



काठमाडौं, २६ मंसिर । बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका लागि ७७० नेपाली युवालाई अन्तिम प्रतिष्पर्धामा बोलाएको छ ।ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा रेक्रुट इन्टकरआरआई–२०२१ का निम्ति बिहीबार (१० डिसेम्बर) नामावलीसहित बोलाएको हो । त्यसरी बोलाइएका युवाहरूमा मनाङ, मुस्ताङ, डोल्पा, सिरहा, धनुषालगायत ५६ जिल्लाका छन् ।कोरोना महामारीका कारण गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका दिएको छ । यो वर्षको छनोट प्रक्रिया नियमित तालिकाभन्दा एक महिना पछाडि धकेलिएको छ । आगामी जनवरी २३ बाट सिंगापुर र फेब्रुअरी २ बाट ब्रिटिस गोर्खाको छनोट हुनेछ । यसअघि जनवरीमै छनोट प्रक्रिया पूरा गरिन्थ्यो ।

अन्तिम छनोटका पोखरामा हुनेछ । त्यस निम्ति नेपालको पूर्वी भेगबाट र पश्चिम भेगबाट आधा–आधा संख्यामा प्रतिष्पर्धी छानिएका छन् । अन्तिम प्रतिष्पर्धामा सिंगापुर पुलिस फोर्सका निम्ति २१० जना बोलाइएका छन् । कोरोना भाइरसको स्वास्थ्य प्रोटोकल अपानाएर ३०–३० जनाको समूहमा स्पर्धा गराइने छ । तीमध्ये १४० जना छनोट हुनेछन् ।ब्रिगेड अफ गोर्खाजका निम्ति देशभरिबाट ५६० जनालाई प्रतिष्पर्धामा बोलाइएका छन् । जसमा पूर्व क्षेत्रका २८० र पश्चिम क्षेत्रका २८० जना छन् । उनीहरूलाई ३२ जनाको समूहमा प्रतिष्पर्धा गराइने जनाइएको छ । अन्तिममा ३४० जना छनोट हुने बताइएको छ । यो संख्या गत वर्षभन्दा कम हो । गत वर्ष ब्रिटिसमा ४३२ जना र सिंगापुरमा २२० भर्ती लिइएको थियो ।

ब्रिटिस आर्मी मुख्यालयले छनोट प्रक्रियाको माध्यम मेडिकल, एजुकेसनल र इन्टरभ्यु आरआई–२० को जस्तै हुने जनाएको छ । कोरोना भाइरस संक्रमण अवस्थाको आधारमा शारीरिक परीक्षाहरू निर्धारण हुने भनिएको छ । त्यस निम्ति छनोट प्रक्रियामा उच्च प्रदर्शन दिन शारीरिक तथा मानसिक तवरले तन्दुरुस्त रहन सुझाइएको छ ।‘सेलेक्सन आउनु अगाडि तपाईंहरूलाई कोरोना भाइरस संक्रमणबाट जोगिनुहोस्,’ वेबसाइटमा भनिएको छ, ‘हामी तपाईंहरूको आगमनमा पीसीआर टेस्ट लिनेछौं । यदि तपाईंको टेस्ट पोजिटिभ आएमा अथवा तपाईंमा कोरोना भाइरसको लक्षण देखिएमा तपाईं गोर्खा भर्ती छनोट प्रक्रियाबाट स्वत बाहिरिनु हुनेछ ।

’काठमाडौंस्थित क्लास रूम एकेडेमीका प्रबन्ध निर्देशक विनोद राईले यो वर्षको छनोट प्रक्रिया छोटो र सहज तुल्याएको बताए । ‘यो पटक डोको क्यारी, जर्किन क्यारी, लिफ्ट एण्ड क्यारी कटौती गरिएका छन्,’ राईले भने, ‘छनोट प्रक्रियामा २ किलोमिटर दौड ८ मिनेट १० सेकेन्डमा पार गर्नु पर्नेछ । हेभिङ ९ओभर आर्म० १२ पटक, मिट थाइपुल कम्तिमा ७६ किलो, ४ किलोको मेडिसिन बल थ्रो ३ दशमलव १० मिटर फाल्नु पर्नेछ ।’त्यसैगरी एजुकेसनमा फ्री–राइटिङ ३० मिनेट, सुनाइ र बोलाइ १५ मिनेट हुनेछ । अन्तिममा अन्तर्वार्ता लिइने छ । मेडिकल टेस्ट गत वर्षकै कायम गरिएको जनाइएको छ । भर्ती हुन सफल युवाले विगतका वर्षझैं पारिवारिक भेटघाट गर्न पाउने छैनन् । टेलिफोन र भिडियो कलमार्फत् कुराकानी गर्न पाउने जनाइएको छ ।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६