काठमाडौँ २७ मंसिर । पर्साको वीरगञ्जमा एकजना पुरुषको शव हत्या गरेर फालेको अवस्थामा फेला परेको छ । वीरगञ्ज महानगरपालिका–३२ पारसवा निवासी ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार सोनारको हत्या भएको आशंका प्रहरीले गरेको छ । सोनारको शव घर नजिकैको कुलोमा फेला परेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन् ।
‘गम्छाले घाँटी कसेको अवस्थामा साहको शव फेला परेको हो । आँखामा पनि चोट छ,’ एसपी पन्तले भनिन्, ‘सोनारको कर्तव्य गरी हत्या गरेको देखिन्छ । पोष्टमार्टम रिपोर्ट आइसकेको छैन, घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’सोनारको शव भेटिएको घटनास्थल नजिकै रगत लतपतिएको अवस्थामा लठ्ठी फेला परेको छ । सोनार बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्थे ।घटनास्थलको जाँच मुचुल्कापछि सोनारको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । हत्याको आशंका गरेपनि प्रहरीले अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया