कपिलबस्तु २९ मंसिर । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालको आयोजनामा शिक्षक शिक्षिकाहरुको लागि १ दिने प्राथमिक आँखा उपचार तालिम सम्पन्न भएको छ ।दातृ निकाय नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ नर्वेजियन एसोशियन अफ द ब्लाइन्ड एण्ड पार्सियल्ली साइटेड –नर्बेको आर्थिक सहयोग,छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंज को प्राविधिक सहयोग र महाराजगंज नगरपालिकाको स्थानीय व्यवस्थापनमा संचालन भएको तालिममा प्रमुख अतिथीको आसनबाट बोल्दै महाराजगंज नगरापालिका का मेयर अब्दुल कलामले यो आँखा अस्पतालसँग सहकार्य गर्दै आएको दशौं बर्ष भइसकेको र अस्पतालको प्राविधिक सहयोगमा महाराजगंज नगरपालिकाका सयौं जनताहरुलाई मोतिविन्दुको शल्यक्रिया गरी नयाँ ज्योति प्रदान गरेको स्मरण गर्दै यो आर्थिक बर्षमा पनि नगरपालिकाका कम्तिमा ४ ठाउँमा निःशुल्क आँखा शिविर गर्नको लागि बजेट विनियोजन गरेको बताउनु भयो । साथै मेयर कलामले नगरपालिका अन्तर्गतका शिक्षक शिक्षिकाहरुको लागि संचालन गरिएको प्राथमिक आँखा उपचार तालिमको लागि अस्पताललाई धन्यबाद समेत व्यक्त गर्नुभयो ।
महाराजगंज नगरपालिकाका १९ वटा माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाहरु सहभागी भएको सो तालिम कार्यक्रममा आँखामा लाग्ने सामान्य रोग र उपचार,चोटपटक,आँखामा लगाउने औषधिको प्रयोग,स्वस्थ आँखाका लक्षणहरु,दृष्टि दोष लगायतका विविध बिषयहरुमा आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक तथा ओ।पि।डि इन्चार्ज ओपेन्द चन्द जानकारी गराउनु भएको थियो । अन्धोपन न्युनीकरण र प्रेषण प्रणालीलाई बढावा दिनको लागि तालिम आयोजना गरिएको अस्पतालले जनाएको छ ।छन्द(कालेबाबु)नारायणी आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वर्माको अध्यक्षता,महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामको प्रमुख आथित्यता र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेद प्रसाद खरेलको बिशिष्ट आतिथ्यतामा भएको सो तालिममा नगरपालिका शिक्षा शाखा प्रमुख रेश्मीराज अर्यालले आप्mनो धारणा राख्नु भएको थियो । तालिममा अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्द, लेखा सहायक कमल चौधरी,मधु खड्का लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको आयोजनामा महाराजगंज नगरपालिकाको श्री जानकी माध्यमिक विद्यालयमा विद्यार्थीको आँखा चेकजाँच गर्ने कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका ३ सय ८३ जनाको आँखा चेक जाँच गरिएकोमा ४ जनालाई चश्मा लगाउनुपर्ने समस्या देखिएको २ जना विद्यार्थीलाई थप उपचारका लागि अस्पतालमा रिफर गरिएको नेत्र सहायक बर्षा योगीले जानकारी दिनु भयो । चश्मा लगाउनु पर्ने विद्यार्थीहरुलाई निःशुल्क चश्मा उपलब्ध गराइने अस्पताल सुत्रले जनाएको छ । न्युजसेन्टर नेपाल
प्रतिक्रिया