सूचना र प्रविधि

चालु आर्थिक वर्षमा २ सय २१ बीओपी स्थापना गर्ने लक्ष्य : गृहमन्त्री थापा



चितवन २९ मंसिर । गृहमन्त्री रामबहादुर थापाले चालु आर्थिक वर्षमा दुई सय २१ बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको र यस वर्ष ८७ नयाँ बिओपी स्थापना भइसकेको बताउनुभएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको सोमबार (आज) भण्डारामा उद्घाटन गर्दै उहाँले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रूपमा सम्पादन गर्न यसले सहयोग पुर्‍याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै निकायबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्ति, सुरक्षा र अमन–चयन कायम गर्ने कुरा सम्भव हुन्छ ।’ उहाँले अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । सीमा सुरक्षासम्बन्धी कानुन तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत त्यो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । 

सशस्त्र प्रहरीलाई समयानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउन एवं सङ्गठनको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । गृहमन्त्रीले भन्नुभयो, ‘सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूले आफ्नो पेसागत ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरी समयानुकूल कार्यसम्पादन गर्न सकेमा राष्ट्र र सङ्गठनको लक्ष्य प्राप्तिमा थप टेवा पुग्नेछ ।

’भारत र चीन दुवै देशसँग सीमाना जोडिएको वाग्मती प्रदेशको अलग र विशेष महत्त्व रहेको र सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउँदै उहाँले राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यावसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन निर्देशन दिनुभयो ।  

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सीमा सुरक्षालाई बलियो बनाउँदै अघि बढ्ने बताउनुभयो । उहाँका अनुसार देशका सिमानामा पाँच सय वटा बीओपी पुर्‍याइने छ ।बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मन्दीप श्रेष्ठले बाहिनीका बारेमा जानकारी गराउनुभएको थियो । यस बाहिनी विसं २०७५ भदौ ६ गते स्थापना भएको हो । यसले काठमाण्डौ उपत्यकाका तीन जिल्लाबाहेक वाग्मती प्रदेशका १० जिल्ला हेर्दै आएको छ । 

प्रकाशित : २९ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६