काठमाडौं, ८ पुस । स्थान : काठमाडौंको सभागृह । कार्यक्रम :नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र) बीचको एकता घोषणा । मञ्चहरुमा सधैं आक्रमक रुपमा प्रस्तुत हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक मुद्रामा थिए । जुन दिन माओवादी विघटन गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएको घोषणा गर्दै थिए । उनी भन्दै थिए, ‘थुप्रै चुनौती छन् तर हामीसँग थुप्रै अवसरहरू पनि छन् । अब यहाँ न एमाले छ न माओवादी । यो अर्को छुट्टै नयाँ कम्युनिस्ट पार्टी बनिसक्यो ।’
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उही प्रचण्डको भनाईमा भाका मिलाउँदै थिए । उही ठट्यौली शैलीमा भन्दै थिए, ‘हामी मिसिएका होइनौं, अन्तरघुलित भएका हौं । अब एमाले पार्टी छैन, माओवादी पार्टी पनि छैन । नयाँ पार्टीमा एमाले र माओवादी खोजेर पाइँदैन ।’ प्रधानमन्त्री ओलीले दुई पार्टीको संयुक्त केन्द्रीय कमिटीको बैठकमा भएका कुरा ओलीले सुनाउँदै भनेका थिए, ‘मैले प्रचण्डजीलाई भनें, ‘अब तपाईको माओवादी केन्द्र सिद्धियो । उहाँले पनि भन्नुभयो तपाईको एमाले पनि सिद्धियो । त्यही जवाफ सुन्नका लागि भनेका थिएँ । दुई वटै सिद्धियो
पार्टी एकता घोषणा कार्यक्रममा ओली र प्रचण्डको एउटै भाका र भाषा थियो, ‘अब एमाले र माओवादी सिद्धियो । नेकपा जन्मियो ।’ घोषणा सभामा निकै उत्साही भएर बोलेका प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अब पार्टी महासागर भइसक्यो । हिन्द महासागरमा कोशीको पानी खोजेर पाइन्छ रु हिन्द महासागरमा कोशीको पानी खोई भनेर हुन्छ र? सेतीको पानी खोजेर भेटिन्छ र?बागमती कता छ भनेर हुन्छ ?
मिति स् ७ पुस २०७७ । नेताहरु उही । तर स्थान अलग अलग । एकैदिन । समय फरक । एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकारी निवास बालुवाटारमा थिए । तीन वर्ष अघि सँगै हिड्ने कसम खाएका सहयोद्धा अर्थात् एउटै जेटका पाइलट प्रचण्डलाई धार हात लगाउदै थिए । ओली भन्दै थिए, म सुन्दैछु केपी ओलीलाई निकाल्नुहुन्छ रे । उहाँहरुले भन्दा १० वर्ष अगाडि पार्टी सदस्यता मैले लिएको होला। एउटा आन्दोलन सुरु गरेर जतिबेला आन्दोलन टुक्राटुक्रा, धुजाधुजामा थियो, त्यसअवस्थामा एकता एकीकरणको अभियान थालेर आएको मलाई आज ‘ताजुब के भने प्रचण्डले मलाई निकालिदिने रे पार्टीबाट ।’
प्रधानमन्त्री ओलीले नयाँ केन्द्रीय कमिटि अर्थात् नेकपा विभाजनको औपचारिक घोषणा गर्दै थिए । प्रधानमन्त्री ओलीले औपचारिक घोषणा सुनाए, ‘जसरी मैले हिजो साथीहरु थप गरेँ, त्यस उद्देश्यका लागि मैले ४४१ केन्द्रीय कमिटी, २ जना आमन्त्रित केन्द्रीय सदस्य र ४ जना पछि थपियो । ४४७ जना पहिले केन्द्रीय सदस्य र ५५६ जना मैले हिजो मनोनयन गरेका केन्द्रीय सदस्य गरेर १००३ जनाको केन्द्रीय कमिटी बनेको छ । १९६ जना खाली राखेर ११९९ जनाको कमिटी बनाइएको छ । यो कमिटी पछि हेरफेर हुन्छ ।’
उता बालुवाटारमा प्रधानमन्त्री ओलीले घोषणाको तीन घन्टापछि काठमाडौंको बबरमहलस्थित कार्की प्यार्टी प्यालेसमा नेकपाको ४४६ सदस्यीय केन्द्रीय समिति मध्येका ३ सय १५ केन्द्रीय सदस्य उपस्थित भेलाले उनै ओलीलाई कारबाहीको घोषणा गरे । ओलीलाई अनुशासनको कारबाही गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरियो । उही बैठकमा प्रचण्डले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।
मंगलबारको यी दुई फरक बैठकसँगै अब औपचारिक रुपमा नेकपा फुटेको छ । १७ असोज २०७४ मा एमाले र माओवादीले गठबन्धन बनाएर चुनाव लड्ने सहमति गर्दै गर्दा कार्यकर्ताहरुमा नयाँ उत्साह, उर्जा र उमङ्गको सञ्चार भएको थियो ।त्यो उत्साहको उत्कर्ष थियो, ३ जेठ २०७५ को एकता घोषणा कार्यक्रम । पार्टी एकताको घोषणा हुँदै गर्दा एकीकृत नेकपाका नेता तथा कार्यकर्ताहरु त खुशी थिए नै । आम जनताहरुमा नयाँ आशा र उत्साह पलाएको थियो । सबैको अपेक्षा उही थियो, ‘समृद्धि र सुशासन ।’
त्यो आशा, उत्साह उर्जाको समापन ७ पुस २०७७ आइपुग्दा भएको छ । यतिसम्मकी तलसम्म एकता सम्पन्न भइ नसक्दै नेकपा बिभाजित भएको छ । अब बिभाजित नेकपाका कार्यकर्ताहरु मुडभेडको अवस्थामा पुगेको छ । केन्द्रदेखि जिल्लासम्म पार्टी कार्यालय कब्जादेखि भिडन्तसम्मको अवस्थामा पुगेको छ ।नया पेजवाट
प्रतिक्रिया