कपिलवस्तु पुस १४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समूहका प्रभावशाली नेता शङ्कर पोख्रेलले पार्टी भित्र अझै पनि सहमतिको सम्भावना रहेको बताएका छन् ।
मङ्गलवार कपिलवस्तुको बुद्धभुमी नगरपालिका ९ बुद्धभुमी क्याम्पसमा आयोजित भेलाको सम्वोदन उनले भने , ‘ पार्टीका दोस्रो वरियतामा रहेका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेसको गरेको आधारहीन आरोपका दस्ताबेजका कारण पार्टीमा समस्या आएको छ । हामीले कुनै पनि नेतालाई कारबाही गरेका छैनौ । त्यसै कारण हामी विभाजनको पक्षमा छैनौ । उहाहरु ( प्रचण्ड माधव समूह ) ले प्रधानमन्त्रीलाई गरेको आरोप पत्र फिर्ता लिने वातावरण तयार भई चुनावमा भाग लिन मन्जुर गर्ने हो भने फेरी सँगै हिँड्न सक्ने अवस्था आउन सक्छ । ’ अध्यक्ष प्रचण्ड र माधव कमरेडले विभाजनका गतिविधि बन्द गरी एकताका पक्षमा लाग्न समेत आग्रह गरे ।
अध्यक्ष प्रचण्डले विकल्प दिँदा पनि सहमतिको प्रयास गर्नु भएन ।
मुख्यमन्त्री पोख्रेलले संसद् विघटन अगावै अध्यक्ष प्रचण्ड सँग सहमतिका घर मै पुगेर भेटेको बताए । अन्तिम पटक सम्म पनि सहमतिको लागि प्रयास गरेका थियौ । उहाँ सँग सहमतिका लागि तिन विकल्प प्रस्तुत गरेका थियौ । कुनै विकल्पमा मान्नु भएन ।
‘ पहिला विकल्पको रूपमा अध्यक्ष कमरेडको बिच सहमति गरी अधिवेशन गरी प्रथम अध्यक्षलाई बिदा गराउने र ५ वर्ष सम्म सरकारको नेतृत्व दिने रहेको थियो । त्यो नमाने पछि दोस्रो विकल्पको रूपमा अध्यक्ष प्रचण्ड लाई प्रधानमन्त्री बनाउनका लागि सिफारिस गरिएको थियो । जसका लागि चुनावी सरकारले नेतृत्व लिनका लागि तयार हुन् आग्रह गरिएको थियो । अन्तिम विकल्पको रूपमा तेस्रो व्यक्ती प्रधानमन्त्री बनाउनका लागी नेता वामदेव गौतमलाई अगाडी सार्ने र त्यसका लागि नेता गौतमलाई चुनावमा पठाउनका लागि अनुरोध गरे । उहाँले ३ विकल्प नमानी बाहिरबाट प्रस्ताव ल्याउने कोसिस गर्दा नेकपा भित्र सङ्कट आएको थियो । नेकपा भित्रको दरार भनेको अध्यक्ष प्रचण्डले पेस गर्नु भएको आरोप पत्र हो । ’ सम्वोदनका क्रममा पोख्रेले भने ।
कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले नेकपा एक ढिक्का रहेर अगाडी बढेको बताउनु भयो । नेकपाका कार्यकर्ता यता र उता भनेर विभाजन गरेका छैनौ । केही साथीहरू सडकमा विरोध गर्न जानु भएको छ । विरोध गर्न जाने साथी जनताका लागि नभएर पदको लागि विरोध गरेको बताउनु भयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य बलराम अधिकारी, झबीलाल पोख्रेल, डम्बर शर्मा, शान्ति देवी हरिजन, लुम्बिनी प्रदेशमा सामाजिक विकास समितिका सभापति दीर्घ नारायण पाण्डे, प्रदेश सभा सदस्य अर्जुन बहादुर केसीले कार्यकर्तालाई निर्वाचनमा लाग्नका लागि अनुरोध गर्नु भएको थियो । कार्यक्रममा २५ जना काँग्रेसका कार्यकर्ता नेकपा प्रवेश गरेका थिए ।
प्रतिक्रिया