काठमाण्डौ २२ पुष । केही दिनदेखि काठमाण्डौको वायु प्रदुषणले कोरोना भाइरसका सङ्क्रमित र स्वास श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुलाई धेरै समस्या भैरहेको डाक्टरहरुले बताएका छन् ।कोरोना संक्रमण भएर घरमा बसेकाहरुले अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम रहेको छ भने तत्काल अस्पताल गएर भर्ना भएर बस्नुपर्ने वीर अस्पतालमा छाती रोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठ बताउनुहुन्छ । यस्तै बालबालिका, बृद्धबृद्धा, गर्भवती महिला, पेटमा रहेको बच्चालगायतलाई वायु प्रदुषणका कारण धेरै समस्या हुने अध्ययनले प्रमाणित गरिसकेकोले विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।
उज्यालोसँग कुरा गर्दै उहाँले मुटु रोग भएका, हृदयघात भएकालगायत समस्या भैसकाका व्यक्तिहरु उच्च जोखिममा रहेका बताउनुभयो । यस्तो मौसममा उच्च जोखिममा रहेका व्यक्तिहरु घर बाहिर निस्कन नै नहुने उहाँको भनाई छ । यस्तै मर्निङ वाक, इभिनिङ वाक गर्नेलगायत क्रियाकलापले पनि यस्तो समयमा स्वास्थ्यमा असर गर्ने डाक्टर श्रेष्ठ बताउनुहुन्छ ।वायु प्रदुषण मापन गर्ने एक्यूआई ५ सय नाघेको खण्डमा स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने भन्दै उहाँले त्यसै विन्दु नजिक प्रदुषण पुगेकोले विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया