काठमाण्डौ २५ पुष । भारतको छत्तिसगढको बस्तरमा एक जनाले एकै पटक दुई जनासित विवाह गरेका छन् । यो विवाह अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । टिकरा लोहंगा गाउँमा विवाह सम्पन्न भएको हो । गाउँमा चन्दू मौर्य नाम गरेका युवाले एउटै मण्डपमा दुई जनासँग विवाह गरेका हुन् । मुरिया जनजातिका चन्दूले आफूले दुवै जनासित प्रेम गरेकाले धोका नदिन दुवैसँग विवाह गरेको बताएको बीबीसी हिन्दीले लेखेको छ । उनले भनेका छन्, ‘मैले दुई जनासँगै प्रेम गरेको थिएँ, कोही एक जनालाई धोका दिन सक्दैन थिएँ, मनमा केही प्रश्न थियो तर विवाहका लागि दुवै जना राजी भएपछि विवाहका लागि म पनि तयार भएँ ।’ चन्दूले सुन्दरी कश्यप र हसीना बघेलसँग एकै पटक विवाह गरेका हुन् । विवाहपछि सुन्दरी र हसीनाले आफूहरू पनि खुशी रहेको प्रतिक्रिया दिएको खबरमा उल्लेख छ ।
चन्दूले आफ्नो सम्बन्धबारे दुवै जनालाई भनेको र त्यो कुरा दुवै जनाले स्वीकार्दै एकैसाथ बस्न तयार भएको बताएका छन् । पहिला सुन्दरीसँग प्रेममा रहेका चन्दू पछि हसीनाको प्रेममा परेका थिए । तीनै जना एक साथ बसेको झण्डै एक वर्षपछि उनीहरूको विवाह भएको हो ।छत्तिसगढका केही जनजातिमा सामान्य विधि पूरा गरेपछि विवाहअघि नै युवा–युवतीसँगै बस्न पाउँछन् । विवाहका लागि चन्दूले कार्डसमेत छपाएका थिए । जसमा दुवै जना बेहुलीको नाम लेखिएको थियो ।
सर्व आदिवासी समाजका नेता प्रकाश ठाकुरका अनुसार तीनै जना बालिग छन् । उनीहरू तीनै जना आदिवासी समाजका हुन् । यो समाजमा बहुपत्नी प्रथामा कुनै रोक छैन । त्यसमा पनि आदिवासी समाज पनि यो विवाहमा खुशी छ । उच्च अदालतका अधिवक्ता प्रियंका शुक्लाका अनुसार यो विवाहलाई गैरकानुनी भन्न मिल्दैन । आदिवासी जनजातिको परम्परा र संस्कृतिभित्र पर्ने भएकाले यस्ता विवाहलाई कानुनले नरोक्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया