हेटौंडा ९ माघ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको हो ।
प्रदेशसभाको बैठकमा प्रचण्ड–माधव समूहका सांसद तथा पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले अविश्वासको प्रस्ताव पेस गरेका हुन् ।तीन वर्षको अवधिमा मुख्यमन्त्री पौडेलले जनताको हितमा अपेक्षाकृत ढंगले काम गर्न नसकेका कारण उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए ।
कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको समेत बताए ।उनले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत बताए ।
प्रस्ताव पेस भएसँगै प्रदेशसभाको बैठक सभामुख श्रेष्ठले स्थगित गरेका थिए । प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ । अविश्वासको प्रस्तावमाथि अब बस्ने प्रदेशसभाको बैठकमा छलफल अगाडि बढ्ने बताइएको छ ।
प्रतिक्रिया