काठमाण्डौ १८ माघ । काठमाण्डौमा बर्ड फ्लू देखिएपछि भारतसँगको नाकामा कडाइ गरिएको छ ।यसअघि भारतमा बर्ड फ्लू देखिएकाले भारतसँगको सबै नाकामा कडाइ गरिएको पशुसेवा विभागले जनाएको छ । विभागले भारतबाट हुने पंक्षीजन्य सबै बस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पनि जनाएको छ । अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लु रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको बताइए पनि काठमाण्डौमा बर्ड फ्लूको पुष्टि भएको हो ।बर्ड फ्लू को कारणले काठमाण्डौमा देखा पर्यो भन्नेबारे भने अनुसन्धान भइरहेको विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो । भारतका विभिन्न राज्यमा बर्ड फ्लू देखिएपछि नाकामा कडाइ गरिएको सरकारले बताउँदै आएको थियो ।
यस्तै सीमानाकासहित देशका विभिन्न ठाउँमा पनि निगरानी बढाइएको छ ।रोग पुष्टि भएको क्षेत्र काठमाण्डौको तारकेश्वर नगरपालिका-७ क्षेत्रमा रहेका सबै घरपालुवा पंक्षी र रोग सार्न सक्ने बस्तु नष्ट गरिएको र अरु ठाउँमा पनि सङ्क्रमण सर्न नदिन कडाइ गरिएको विभागका सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा काठमाण्डौमा बर्ड फ्लू पुष्टि भएको हो । यसैबीच नेपालमा बर्ड फ्लू फेला परेकाले राम्रोसँग पकाएर मात्रै मासु खान डाक्टरले सुझाव दिएका छन् ।बर्ड फ्लू पंक्षीबाट मान्छेमा पनि सर्न सक्ने सम्भावना रहेकाले राम्रोसँग पकाएर मात्रै मासु खानुपर्ने डाक्टरहरुको भनाइ छ । डाक्टरका अनुसार बर्ड फ्लूको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने भएकाले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा बेस हुन्छ ।
प्रतिक्रिया