काठमाडौ २३ माघ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नेतृ निरु पालले संघीयता नामको सेतो हात्ती नेपालले धान्न नसक्ने भएकाले प्रदेश खारेज गर्नुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार साँझ विघटित प्रतिनिधी सभाकी सांसद पालले प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने धारणा राख्नु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोधसहित लेख्दै उहाँले आर्थिक स्थिति कमजोर भएको मुलुकले संघीयता धान्न नसक्ने दाबी गर्नु भएको छ । ‘मलाई पार्टीले कारबाही गरेपनि गरोस्, कुनैदिन टिकट पाएछु र जनताले हराएछन भनेपनि ठिकै छ सहुँला।’
उहाँले भन्नु भएको ,‘तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकोमा विदेशीको ऋण छ।’विघटित प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिकी सभापति पालले तलब र भत्तामै देशको ढुकुटी नसिध्याउन अनुरोध गर्दै स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाएर जनताको घरदैलोमा सेवा पुर्याउनुपर्ने बताउनु भएको छ ।‘प्रधानमन्त्री ज्यू, यो संघियता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन मुठ्ठी भर नेता त खुसि छौ कोहि मुख्यमन्त्री, कोहि प्रदेश मन्त्री, कोहि सांसद छौं, तलब भत्तामै देशको ढुकुटि न सिध्याऔं।
’उहाँले लेख्नु भएको छ ,‘जनताले चाहेको अधिकार विकेन्द्रिकरण हो बरु स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं, जनताको घरदैलोमा सर्वसुलब ढंगले सेवा पर्याऔं। ’ओली समूह निकट रहेकी पालले नेताहरुको सुरक्षा पनि कटौती गर्न माग गर्नु भएको हो । ‘प्रदेश सरकार खारेज गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गरौं ।’ उहाँले भन्नु भएको छ , हाम्रो मुलुकले यत्रो तामझाम बेहोर्न सक्दैन, नेताहरुको सुरक्षा पनि कटौती गरौं सम्माननीय प्रधानमन्त्री ज्यु यहि एजेन्डा लिएर जनतामा जाँदा राम्रो हुनेछ। मेरो अनुरोध हजुरलाई।’
प्रतिक्रिया