बुटवल, २८ माघ । नेपाली चित्रकला पौभा र थाङ्का चिनाउन बुटवलमा सामूहिक चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । पौभा र थाङ्का चित्रकला विश्वमै प्रसिद्ध रहेपनि नेपालीहरु नै यी चित्रकलाको विषयमा अझै अनभिज्ञ रहेकोले पौभा र थाङ्का चिनाउन दुई दिने प्रदर्शनी मंगलवार सकिएको हो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत शिल्पकला विभागको आयोजनामा गरिएको दुई दिने चित्रकला प्रदर्शनीमा प्रदर्शनीमा नेपाली परम्परागत पौभा र थाङ्काका चित्रकलाहरु प्रदर्शन गरिएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धिबहादुर गुरूङले विश्वमै प्रसिद्ध नेपाली कलाका विषयमा आम नेपालीलाई पनि जानकारी दिने र परम्परागत कला र आधुनिक कलाकारबीच अन्तरक्रिया गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताउनु भयो । उहाँले नेपाली पौभा चित्र विदेशमा लोकप्रिय र प्रसिद्ध भएपनि नेपाली बीच चिनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष देवेन्द्र थुम्केलीले स्थानीय पाठ्यक्रममा स्थानीय कला र प्रविधिलाई प्राथमिकता दिनुपर्ने चर्चा गर्दै कला र संस्कृति संरक्षणका लागि हरेक स्थानीय तहले बजेट छुट्याउनु पर्ने धारणा राख्नुभयो ।प्रदर्शनीकै अवसरमा परम्परागत नेपाली चित्रकलाको वर्तमान अवस्था र विद्यमान कला शिक्षा विषयमा दुई कार्यपत्र प्रस्तुत भएको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले प्रतिष्ठानले बुटवलमा चित्रकला प्रदर्शनी गरेर नेपाली परम्परागत कलाको विषयमा जानकारी दिएको भन्दै बुटवल उपमहानगरपालिकाले पनि कला क्षेत्रको संरक्षणमा प्रयास गरिरहेको बताउनु भयो । प्रदर्शनीमा कलाकारहरू मन गोल्डी, पूर्ण ह्योजू, उदयचन्द्र श्रेष्ठ, एचबी रम्तेल, बुटवल उपमहानगर ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले नेपाली कलाको संरक्षण र विकासमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया