काठमाण्डौ ६ फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि एमिकस क्युरी अर्थात् अदालतका सहयोगी सदस्यले आफ्नो राय दिने भएका छन् ।अस्ति मंगलवारदेखि एमिकस क्युरीको बहस सुरु भएका हो । आज एमिकस क्युरीका बाँकी अधिवक्ता बहसमा सहभागी हुनेछन् । पहिलो दिन मंगलवार बद्रीबहादुर कार्कीले राय दिनुभएको थियो । यस्तै हिजो सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिनुभएको थियो ।
बहसका क्रममा कार्कीले संविधानमा जे उल्लेख छ, त्यही मात्रै हेरेर संसद विघटनविरुद्ध परेका रिटको फैसला हुनुपर्ने बताउनुभएको छ भने खरेलले संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने तर देशमा कुनै कम्पन दिउँ भन्ने लागेको भएमा अदालतले प्रधानमन्त्रीको निर्णय सदर गर्न पनि सक्ने राय दिनुभएको छ । तर अर्का सदस्य विजयकान्त मैनालीले भने प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार रहेको दाबी गर्नुभएको छ ।एमिकस क्युरीका पाँच जना सदस्यमध्ये अब पूर्णमान शाक्य र गीता पाठकले राय दिन बाँकी छ ।
सबैको राय आएपछि अदालतले प्रतिनिधिसभा विघटन विरुद्धका रिटको फैसला गर्नेछ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएपछि त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएका छन् ।परेका १३ वटा रिटमाथि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
प्रतिक्रिया