ब्रेकिंग न्युज

दाहाल-नेपाल भेट्न जसपा नेता पेरिसडाँडा पुगे



काठमाडौँ १३ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै नयाँ सरकार गठनको दौडधूप शुरू भएको छ ।संसद् बैठक बस्ने समयसीमा तोकिएसँगै नयाँ सरकार गठनका लागि राजनीतिक दलबीच दौडधूप शुरु भएको हो ।नयाँ सरकार गठनका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–नेपाल समूहले परामर्श अगाडि बढाएको छ । संसद् पुनःस्थापना भएको विजयी उत्सव मनाउँदै नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको खोजी गर्न गृहकार्य अगाडि बढाएको छ ।हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको नेकपा प्रचण्ड–नेपाल समूहले आज जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल थालेको छ ।

छलफलका लागि जसपा नेताहरू पेरिसडाँडा पुगेका छन्। जसपा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन्।दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल भेटवार्तामा सहभागी भएका छन्।प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् ।नेकपाको आधिकारिकताको विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।

पार्टी दुई समूहमा विभाजित भए पनि औपचारिकरुपमा नेकपा विभाजित भएको छैन । हाल नेकपा ओली समूहमा ७८ जना सांसद रहेका छन् । त्यसै गरी प्रचण्ड–नेपाल समूहमा ९६ जना सांसद रहेका छन् ।नेकपाका हाल १ सय ७४ जना सांसद रहेका छन् । त्यसै गरी नेपाली कांग्रेसका ६३ जना सांसद रहेका छन् ।त्यसैगरी संसद्मा रहेका राजनीतिक दलका सांसदहरुको समेत जोडघटाउ शुरु भएको छ ।प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहे पनि हाल कुल २ सय ६९ मात्र सांसद रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीको १ सय ७२, नेपाली कांग्रेसको ६१, जनता समाजवादी पार्टीको ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीको १, राष्ट्रिय जनमोर्चाको १, नेपाल मजदुर किसान पार्टीको १ र स्वतन्त्र १ गरी २ सय ६९ जना सांसद छन् ।

नेकपा दुई समूहमा विभाजित भएसँगै प्रचण्ड–नेपाल समूहमा ९१, ओली समूह ८१, वामदेव समूह १ रहेका छन् । नयाँ सरकार गठनमा प्रचण्ड–नेपाल समूह ९१ र कांग्रेसको ६१ जना हुँदा १ सय ५२ जना पुग्छ, जुन संख्या सरकार गठन गर्न पर्याप्त हो ।नयाँ सरकार गठन गर्नका लागि हाल रहेका सांसदमध्ये १ सय ३५ जना सांसद पुर्‍याउनेले बहुमतको सरकार बनाउन सक्नेछ । त्यसै गरी ओली समूह ८१ र कांग्रेस ६१ जना मिल्दा पनि नयाँ सरकार गठन हुने सम्भावना छ ।नेकपाका दुवै समूहले नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस नै निर्णायक देखिएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६