काठमाडौं ५ चैत्र । सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुन सञ्चालन भएको छ ।निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको थियो ।तर सर्वोच्च अदालतले गत फागुन ११ गते संसद विघटन बदर गरिदिएको झण्डै एक महिनापछि निर्वाचन आयोगले मतदाता नामावली संकलन खुला गरेको हो ।
देशभर १ करोड ६२ लाख मतदाता
निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् । १८ वर्ष पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् ।सबैभन्दा धेरै मतदाता मोरङ जिल्लामा ६ लाख ६९ हजार ४९०, काठमाडौंमा ६ लाख १३ हजार ४९७ जना र झापामा ६ लाख ९ हजार ३७४ जना रहेका छन् । सबैभन्दा कम मनाङमा ५९७६ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया