कपिलवस्तु
मधेसमा पावर हुनेको मात्र काम छिटो हुन्छ तर पावर नहुनेले भने सधैँ एउटै कामका लागि पटक पटक धाउने बाध्यता रहेको छ । यही बाबुवादको कारणले कपिलवस्तुका एक दलित एक महिना देखी सास्ती खेप्नु परेको छ । उनका छोराको चारित्रिक प्रमाणपत्रको जन्म वर्ष फरक भए पछि सच्चाउनका लागि उनी कार्यालय धाउन लागेको एक महिना भन्दा बढी भएको छ । उनी एक महिना देखी विद्यालय र महाराजगन्ज नगरपालिका धाए पनि उनलाई काम हुने आशा भने अझै पलाएको छैन ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं. ११ का राम छेदी पासी कक्षा ११ मा अध्ययनरत छोरा अशोक कुमार पासीको चारित्रिक प्रमाणपत्रको मिति सच्चाउनका लागि १ महिना देखी कार्यालय धाउनु परेको छ । महाराजगन्ज नगरपालिका वडा नं. ११ बलरमवापुरमा रहेको भिन्ना माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्रेश नाथ तिवारीले भने अनेक बहाना गर्दै आलटाल गर्दै आएका छन् । प्रमाण पत्रको मिति सच्चाउनका लागि नगरपालिकाले सिफारिस दिएको पनि १ महिना कटेको छ । नगरपालिकाका शिक्षा प्रमुख उप–सचिव रेश्मी राज अर्यालले फाल्गुन ३ गते विद्यालयमा पत्र लेखी सिफारिस गरेका छन् । तर विद्यालयका प्र अ तिवारीले भने सधैँ भोलि आइज भनी आलटाल गर्दै आएको राम छेदीले बताए । प्रअले काम नगरे पछि राम छेदी बिहीबार नगरपालिका कार्यालयमा धाएका थिए । तर बिहीबार पनि उनको काम भने हुन सकेन ।
अशोकले झिन्ना माविबाट एस ई ई दिएर हाल महाराजगन्ज १ जानकी मा.वी.मा कक्षा ११ मा अध्ययनरत रहेका छन् । उनले हाल पढ्दै गरेको विद्यालयले प्रमाण पत्र मागे पछि सच्चिएको प्रमाणपत्र पेस गर्नु पर्ने छ । मिति सच्चाएर दिने सर्त सहित भर्ना भएका पासी यति बेला प्रमाणपत्रका कारण तनाव सहनु परेको छ ।
पासीलाईि विद्यालयले दिएको कक्षा ८ र एस ई ई को मार्क सिट (लब्धाङ्क पत्र)मा जन्म मिति २०५८ साल माघ २० गते रहेको छ । विद्यालयले दिएको चारित्रिक प्रमाणपत्रमा भने २०६० माघ २० गते उल्लेख गरिएको छ । उनको जन्म दर्तामा पनि जन्म साल २०६० नै रहेको छ । शैक्षिक प्रमाणपत्रमा उल्लेख भए अनुसार नागरिकता लगायत अन्य काज जातमा जन्म मिति फरक नहोस् भन्नका लागि उनले मिति सच्चाउनका लागि निवेदन दिएका थिए ।
यता विद्यालयका अध्यक्ष गंगेशनाथ तिवारीले जन्मदर्ता किर्ते गरेकाे कारणले चारित्रीक प्रमाणपत्रकाे मिति नसच्चाइएकाे बताए । बिद्यार्थिले ७ कक्षामा स्थानान्तरण भएर अाउदा उल्लेख गरेकाे मिति विद्यालयकाे रेकर्डमा रहेकाेले रेकर्ड अनुसार चारीत्रीक प्रमाणपत्र दिएकाे बताए ।
प्रतिक्रिया