काठमाण्डौ ८ चैत्र । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।आइतबार चाक्सीबारीमा रहेको आफ्नै निवासमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकता समेत नदेखाएको उहाँको भनाइ छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मूल्य–मान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले राजनीतिमा देखाउनुपर्ने, दर्शाउन सक्नुपर्ने कुरा प्रधानमन्त्रीले राजीनामा दिएर गर्नुपर्नेमा नगरेको र माओवादी केन्द्रले समर्थन अहिलेसम्म फिर्ता लिन सकेको छैन । जनता समाजवादी पार्टीले पनि अनैतिक सरकारको राजीनामा गराउनका लागि, प्रमुख प्रतिपक्षी दल कांग्रेस हामी त तयार छौँ । तर सङ्ख्या नपुग्दैमा खाली सरकारको परिवर्तनको कुरा गरेर मात्रै हुँदैन ।
हामी के चाहान्छौँ त भन्दाखेरी न्यूनतम रूपमा राजनीतिमा हुनुपर्ने मूल्य, मान्यता, नैतिकता भन्ने कुरा लागू हुनुपर्छ भन्ने कुरामा जोड दिइरहेका छौँ । कम्युनिस्ट सरकारले पाँच वर्षसम्म दिएको म्याण्डेट पूरा गर्न सकेको छैन । अब बाँकी रहेको समयमा अझ राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दल मिलेर अगाडि बढ्नुपर्छ र निकास दिनुपर्छ भन्ने कांग्रेसको भनाइ छ ।’नेता सिंहले कम्युनिस्ट पार्टीले नागरिकले पाँच वर्षका लगि दिएको म्याण्डेट पूरा गर्न नसकेको बताउनुभयो । देशलाई अस्थिरताबाट बचाउन सबै दलले निकास दिनुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया